लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

लिस्बनस्थित नेपाली राजदूतावासले केही समयदेखि बन्द रहेको राहदानीको अनलाइन आवेदन प्रणाली पुनः सञ्चालनमा ल्याएको छ।

नयाँ राहदानी प्रणालीमा परिवर्तन गर्ने प्रयोजनका लागि बन्द गरिएको आवेदन प्रणालीको स्थापना कार्य सम्पन्न भएसँगै राहदानी आवेदन प्रक्रिया पुनः सुरु गरिएको दूतावासले बताएको छ ।

दूतावासले राहदानी नवीकरण गर्नुपर्ने इच्छुक नेपाली नागरिकलाई अनलाइनमार्फत आवेदन फाराम भर्न अनुरोध गरेको छ ।

राहदानीको म्याद सकिन एक वर्ष बाँकी रहेका आवेदकले अनलाइन फाराम भरी त्यसको प्रिन्ट आउट, सक्कल राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपिसहित तोकिएको समय र मितिमा बायोमेट्रिक्सका लागि दूतावासको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

नाबालकको हकमा नाबालक परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, बाबु र आमाको नागरिकता प्रमाणपत्र तथा राहदानी र विवाह दर्ता प्रमाणपत्रसमेत पेस गर्नुपर्ने दूतावासले जनाएको छ ।

राहदानीको अनलाइन आवेदन नेपाल राहदानी अनलाइन आवेदन प्रणालीमार्फत गर्न सकिनेछ । राहदानी आवेदनसम्बन्धी थप जानकारी दूतावासको वेबसाइटमा उपलब्ध रहेको छ ।

दूतावासका अनुसार कन्सुलर सेवा कार्यालय खुलेका दिन बिहान ९ः१५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म उपलब्ध हुनेछ भने राहदानी वितरण तथा राहदानीसम्बन्धी जानकारी लिन दिउँसो २ बजेपछि सम्पर्क गर्न सकिनेछ ।

दूतावाससँग इमेल [[email protected]](mailto:[email protected]) वा टेलिफोन २१३०११३०८ मा सम्पर्क गर्न सकिनेछ। दूतावासको कार्यालय लिस्बनस्थित Rua Pero de Alenquer 29, 1400-293 मा रहेको छ।

सुझावित समाचार