गृहको छानबिन टोली गोलबजारमा, स्थानीयसँग थाल्यो छलफल

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

सिरहाको गोलबजारमा पाँच दिनअघि एकजनाको ज्यान जाने गरी भएको प्रदर्शनसँगै तोडफोड र आगजनीसम्बन्धी घटनाको छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोली गोलबजार पुगेर छानबिन थालेको छ।

मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको पाँच सदस्यीय टोलीले घटनाको निष्पक्ष छानबिनका लागि मंगलबारदेखि घटनास्थलको निरीक्षण, तथ्य प्रमाण संकलनसँगै स्थानीय सरोकारवालाहरुसँग छलफल थालेको हो। प्रदर्शनका क्रममा गोलबजारमा भएका क्षतिग्रस्त व्यापारिक, निजी घर पसलहरुको स्थलगत अनुगमन गरेको समितिले मंगलबार बिहान गोलबजार नगरपालिकामा सर्वदलीय बैठकमार्फत घटनाको विषयमा जानकारी लिएको छ।

त्यसपछि छानबिन समितिले दोस्रो चरणमा उद्योग व्यापार संघ गोलबजारका पदाधिकारीसहित स्थानीय व्यवसायीहरुसँग छलफल गरी प्रदर्शनका क्रममा भएको भौतिक तथा आर्थिक क्षति तथा व्यवसायीका गुनासा टिपोट गरेको संघका अध्यक्ष विजय साहले जनाकारी दिए। उनका अनुसार समितिले तेस्रो चरणमा स्थानीय मुस्लिम समुदायका अगुवाहरुसँग छुट्टै छलफल गरी घटना हुनुको कारण, त्यसको प्रभाव र सामाजिक सद्भाव कायम गर्न सम्भावित उपायहरुको बारेमा छलफल गरेको छ। 

छानबिन समितिका संयोजक सहसचिव शाहीका अनुसार सुनसरीमा भएको घटनाको चार दिनपछि सिरहाको गोलबजारमा परेको प्रभाव, प्रदर्शनमा गोली चल्नुपर्ने अवस्था, विद्यार्थी गणेश यादवको मृत्युको बारेमा बिस्तृत छानबिन थालिएको छ। प्रदर्शनको क्रममा गोली प्रहारले विद्यार्थीको मृत्यु सम्बन्धी घटना, त्यसको पृष्ठभूमि र कारण लगायतको विषयमा छानबिन र सिफारिशसहित गृह मन्त्रालयमा प्रतिवेदन बुझाइने उनले बताए। 

निवेदन संकलन गर्दै स्थानीय प्रहरी
१४ साउनको दिउँसो भएको हिंसात्मक प्रदर्शनपछि भएको आगजनी र तोडफोडले निजी घर, पसल तथा सम्पत्तिमा भएको क्षतिको कारणले मारमा परेका पीडित व्यापारी व्यवसायीहरुले स्थानीय प्रहरीमा निवेदन दिन थालेका छन्।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रदर्शनको क्रममा क्षति ब्यहोरेका व्यापारी व्यवसायीहरुले आफूलाई परेको मर्काको व्यहोरा खुलाएर स्थानीय प्रहरीमा निवेदन गरिएको आग्रहबमोजिम निवेदनहरु संकलन हुन थालेको बताए। ‘स्थानीय प्रहरीले सबैको निवेदन संकलन गरेपछि प्रमाणको आधारमा स्थलगत मुचुल्का उठाएर क्षतिको विवरण तयार गर्छ,’ उनले भने, ‘त्यसपछि आएको विवरणहरुको विश्लेषण गरी एकमुष्ठ रुपमा मन्त्रालयमा पठाउँछौं।’

उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष साहले व्यवसायीलाई सुरक्षित र भयरहित ढंगले व्यापार व्यवसाय गर्न पाउने वातावरण तयार गर्न र व्यापार व्यवसायलाई पुरानै लयमा फर्काउन राज्यको पहिलो जिम्मेबारी रहेको बताए। ‘त्यसमा स्थानीय व्यापारीहरुको पनि सहयोग रहन्छ’ उनले भने।

जिल्लाकै मुख्य व्यापारिक स्थलको रुपमा उदाउँदै गरेको गोलबजारमा १४ साउनमा भएको प्रदर्शनपछि भौतिक तथा आर्थिक क्षतिको यकिन मूल्यांकनका लागि छुट्टै छानबिन गरी राज्यले पीडित व्यपारीहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठले माग गरे।

महासंघका पदाधिकारीहरुको अनुगमन
सुनसरी घटनाको विरोधमा भएको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर सिरहाको औरही गाउँपालिका २ तुलसीपुरका १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि आक्रोशित भीडले गोलबजारस्थित एबी मल, नेहाल हार्डवेयर सेन्टर, न्यू अस्लम वस्त्रालय लगायत करिब एक दर्जनभन्दा बढी घर तथा पसलमा आगजनी, तोडफोड गरेको थियो।

नेपाल उद्योग बाणिज्य संघ मधेश प्रदेशका पदाधिकारीहरुको टोलीले स्थानीय निजी घर तथा पसलहरुमा भएको तोडफोड आगजनीमा क्षति पुगेका विभिन्न व्यवसाय तथा व्यापारिक प्रतिष्ठानहरुको स्थालगत अनुगमन गरेको छ। महासंघका प्रदेश समिति अध्यक्ष विजयकुमार साह नेतृत्वको टोलीले आगजनीमा ध्वस्त भएको नेहाल आइरन स्टोर एन्ड सप्लायस, एबी मल लगायतका प्रतिष्ठानहको स्थलगत निरीक्षण गरिएको उद्योग व्यापार संघ गोलबजारले जनाएको छ। संघका अनुसार गोलबजार क्षेत्रमा घर पसलमा भएको तोडफोड र आगजनीमा करिब एक अर्बको हारहारीमा क्षति भएको छ।

सुझावित समाचार