उदयपुरमा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

साउनको तेस्रो सातासम्म उदयपुरमा धान रोपाइँ ९४ प्रतिशत सम्पन्न भएको छ। सामान्यतया असारभित्र सकिने रोपाइँ यो वर्ष साउनको तेस्रो सातासम्म आइपुग्दा पनि सकिएको छैन।

विशेष गरी आकाशे पानीमा निर्भर तराई तथा भित्री मधेसका अधिकांश खेतमा रोपाइँ बाँकी छ। कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष जिल्लामा १३ हजार ३८० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकोमा हालसम्म ९४ प्रतिशत अर्थात् करिब १२ हजार ५७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। अझै करिब ८०३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले जानकारी दिए।

उनका अनुसार गत वर्षझैँ यस वर्ष पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो। ‘समयमै पर्याप्त पानी नपरेकाले अझै धेरै खेतमा रोपाइँ हुन सकेको छैन,’ उनले भने।

गत आर्थिक वर्ष ०८२/८३ मा जिल्लाको १२ हजार ९१२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। त्यसबाट ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो। आर्थिक वर्ष ०८१/८२ को तुलनामा आव ०८२/८३ मा ४०८ हेक्टरमा रोपाँइ भएको थिएन। त्यस कारण उत्पादन भने १८ हजार २७५ मेट्रिक टनले घटेको थियो।

चालु आर्थिक वर्ष ०८३/८४ मा पनि अझै ८०३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेकाले उत्पादनमा असर पर्ने देखिएको छ। प्रमुख यादवका अनुसार रोपाइँको समयमा पर्याप्त वर्षा नहुनु र सिँचाइको अभाव नै धान उत्पादन घट्नुको मुख्य कारण हो।

जिल्लाको पहाडी क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भएकाले अधिकांश खेतमा रोपाइँ सम्पन्न भइसकेको छ। रौतामाई, लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकाका अधिकांश खेतमा रोपाइँ सकिएर धान हरियाली भइसकेको छ।

तर त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका समथर भूभाग तथा भित्री मधेशका धेरै खेत अझै बाँझै छन्। असारको सुरुवातमा परेको वर्षापछि किसानले रोपाइँ सुरु गरेका थिए। त्यसयता पर्याप्त वर्षा नहुँदा खेत सुक्दै गएपछि रोपाइँ रोकिएको हो। छिटफुट वर्षाले खेत हिल्याउनसमेत नपुग्दा ब्याडमा तयार भएका धानका बिरुवा उमेर नाघ्न थालेको किसानको गुनासो छ।

सुझावित समाचार