छेडा–चाँदे र भेरी करिडोर सडकको समस्या समाधान गर्न संसदबाट सरकारको ध्यानाकर्षण

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले छेडा–चाँदे सडकअन्तर्गतको सडक अवरोध तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बुढाले लोडनी क्षेत्रमा सडक अवरुद्ध हुँदा स्थानीय नागरिकले बर्सेनि सास्ती खेप्नुपरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । बुढाले जाजरकोटसहित डोल्पा र रुकुम पश्चिमका हजारौँ नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका सडक, पुल तथा स्वास्थ्य सेवाका बिषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

वर्षायाम सुरु भएसँगै भेरी करिडोरअन्तर्गतका विभिन्न खोलामा पुल नहुँदा नागरिकको आवागमन प्रभावित भएको बताए। उनले पासागाड, तात्रगाड र मैदेलगायतका खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा वर्षायाममा यातायात सेवा लगभग अवरुद्ध हुने अवस्था रहेको उल्लेख गरे ।

उनका अनुसार सडक तथा पुलको कमजोर अवस्थाका कारण जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामीले समयमै उपचार पाउन नसक्ने, विद्यार्थीको आवागमन प्रभावित हुने तथा खाद्यान्न,औषधि र अन्य अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या हुने अवस्था रहेको उनले संसदमा बताए ।

सांसद बुढाले भेरी करिडोरजस्तो रणनीतिक र महत्त्वपूर्ण सडक खण्डमा रहेका पुल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर शीघ्र सम्पन्न गर्नुपर्ने माग गरे । त्यस्तै, छेडागाड–जुनीचाँदे सडकअन्तर्गत लोडनी क्षेत्रमा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा थप समस्यामा परेको उनले बताए । वर्षायाममा हरेक वर्ष सडक अवरुद्ध हुने र नागरिकले सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गर्न दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।

‘बर्सेनि दोहोरिने यस्ता समस्याको दीर्घकालीन समाधान गर्न सरकार किन गम्भीर देखिँदैन ?’ भन्ने प्रश्न गर्दै बुढाले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरे । सोमबार राति मात्र भेरी नगरपालिका– ४ बोहरामा गएको पहिरोका कारण एउटा घर पूर्ण रूपमा भत्किएको र परिवार विस्थापित हुन बाध्य भएको विषय पनि सांसद बुढाले संसदमा उठाए ।

उनले पहिरो प्रभावित परिवारको तत्काल उद्धार गरी सुरक्षित आवासको व्यवस्था गर्न तथा उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे । प्राकृतिक विपतका कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापनाको कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।

त्यसैगरी, उनले जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव रहेको विषयलाई समेत प्रतिनिधिसभामा उठाए । ५० शय्यामा स्तरोन्नति भएको जाजरकोट अस्पताल विशेषज्ञ चिकित्सकविहीन हुँदा जिल्लावासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन कठिनाइ भइरहेको भन्दै उनले नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए ।

विशेषगरी बालरोग, स्त्रीरोग तथा हाडजोर्नीलगायतका विशेषज्ञ चिकित्सकको व्यवस्था जाजरकोट अस्पतालमा तत्काल गर्नुपर्ने उनको माग छ । अस्पतालको भौतिक क्षमता विस्तार भए पनि आवश्यक जनशक्ति र विशेषज्ञ सेवा उपलब्ध हुन नसक्दा जिल्लाका नागरिक उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहेको उनले बताए ।

सांसद बुढाले भेरी करिडोरका पुल निर्माणलाई प्राथमिकताका साथ सम्पन्न गर्ने, अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने, विपतपीडित नागरिकलाई राहत तथा पुनर्स्थापना गर्ने र जाजरकोट अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने काममा सरकार गम्भीर बन्नुपर्ने बताए ।

सुझावित समाचार