सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानस्थित बिपी राजमार्गबाट प्रहरीले आलुको बोराभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासबाट खटिएको प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा महोत्तरीबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइसमा सवार सन्देश यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार यादवको साथबाट आलुको बोराभित्र लुकाइएको ४५.१९० ग्राम खैरो हेरोइन बरामद भएको थियो। बरामद लागुऔषध काठमाडौं पुर्याउने क्रममा हाइसलाई स्कर्टिङ गर्दै मोटरसाइकलमा आएका थप दुईजनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सिराहा मिर्चैया नगरपालिका– ५ का २० वर्षीय सन्देश यादव, धनुषा कमला नगरपालिका– ७ का २० वर्षीय राहुलकुमार मण्डल र सिराहा कल्याणपुर नगरपालिका– ६ का २० वर्षीय अभिषेककुमार साह रहेका छन्। प्रहरीले उनीहरूबाट ४५.१९० ग्राम खैरो हेरोइन, बा.प्र.–०४६५४८५३ नम्बरको एउटा मोटरसाइकल र एउटा मोबाइल बरामद गरेको छ।
पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।