राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्ता घटनालाई लिएर समुदाय–समुदायबिच द्वन्द्व सिर्जना गर्न नहुने बताए। ‘हामीहरू गरिबी, पछौटोपन र असमानताविरुद्ध लड्नुपर्ने हो, कुनै समुदायविरुद्ध होइन,’ उनले भने ।
सिंहले प्रधानमन्त्रीले ढिलै भए पनि राष्ट्रका नाममा सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गरे। साथै, सुरक्षा कारबाहीबारे प्रश्न उठाउँदै उनले भने, ‘लाठी र टियरग्यास हुँदाहुँदै गोली मात्र किन चल्छ ? के सुरक्षाकर्मीको तालिम पुगेन, वा गोली चलाउनुपर्ने मनोविज्ञान विकास भएको हो।’
उनले राज्यको प्राथमिकतामाथि पनि प्रश्न उठाए। ‘हजारौँको संख्यामा सेना नियुक्तिका लागि पैसा छ, तर शिक्षक र डाक्टर नियुक्त गर्न किन पैसा छैन ?’ उनले साेधे । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्न सरकारसँग माग गरे।