धौलेपानीको अवैध काठ बरामद प्रकरण : निर्देशनालयको छानबिन टोलीविरुद्ध जिल्लाको पनि छानबिन समिति

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

कैलाली गोदाबरीको धौलेपानी राष्ट्रिय वनबाट बरामद गरिएको अवैध काठ प्रकरणमा दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरिएका छन् । १५ साउन ०८३  मा धौलेपानी राष्ट्रिय वनको काठ कृष्णपुर– १ दीपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रबाट बरामद गरिएको काठ छानबिनका लागि दुई छानबिन समिति गठन गरिएका हुन् । 

झन्डै डेढ हजार क्युफिट अवैध रूपमा ट्याक्टरमा ओसारिरहेको उक्त सालको काठ डिभिजन वन कार्यालय कञ्चनपुरसहित प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो। अहिले घाटगद्दीको समयसमेत नभएकाले गैरकानुनी रूपमा कैलाली वनका कर्मचारीको मिलोमतोमा तस्करी हुन लागेको भन्दै सरोकारवाला संरक्षणकर्मीबाट आवाज उठेलगत्तै क्षेत्रीय वन निर्देशनालयले वन अधिकृत बालमुकुन्द भट्टको नेतृत्वमा छानबिन समिति गठन गरेलगत्तै डिभिजन वन कार्यालय कैलालीले पनि वरिष्ठ वन अधिकृत जीवछ यादवकाे संयोजकत्वमा वन अधिकृत चन्द्रबहादुर भण्डारी, प्रशासन अधिकृत यज्ञनारायण श्रेष्ठ सदस्य रहने गरेर छानबिन समिति गठन गरेको हो । 

जब कि अनधिकृत रूपमा काठ ओसार्ने काठ तस्कर समूहलाई सघाउ पुर्याउने काम गरेको कैलाली डिभिजन वन कार्यालयका कर्मचारीमाथि आरोप छ। माथिल्लो तहबाट छानबिन समिति गठन गरिए पनि त्यसविरुद्धमा वास्तविकता विषयान्तरणका लागि डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुरमाथि समेत गम्भीर आरोप लागेको छ।

निर्देशनालयको छानबिन टोली मात्रै विवारहित काबिल वन अधिकृत बालमुकुन्द भट्ट नेतृत्वको छानबिन टोलीले सत्यतथ्य बाहिर ल्याउने हतास मनस्थितिले कैलालीले त्यसविरुद्ध छुट्टै समिति गठन गरेको वनकै कर्मचारीको दाबी छ । माथिल्लो निकायबाट गठन भएको छानबिन समितिविरुद्ध आफ्नै छुट्टै किन गरिएको विषयमा वनकै कर्मचारी मात्रै होइन, संरक्षणकर्मीदेखि सर्वसाधारणसमेत अचम्मित भएका छन् । 

डिभिजन वन प्रमुख ठाकुरले सात दिनभित्र प्रतिवेदन पेस गर्न समय दिएसँगै काठ बरामद भएको सबडिभिजन वन कार्यालय वाणीमा पुगेका कर्मचारीहरूलाई स्थानीयले फर्काइदिएका छन्। स्थानीयहरूले क्षेत्रीय वन निर्देशनालयबाट समिति गठन हुँदाहुँदै अनि जिल्लाले पनि गरेर छानबिन प्रभावित पार्ने काम गरेको भन्दै उनीहरूलाई रोकेरै केहीबेर थुनेर फर्काइदिएका हुन् । सुदूरपश्चिम प्रदेश वन निर्देनालयका प्रदेश वन निर्देशक हेमराज विष्टले काठ बरामदीको विषय पछिसम्म फरक नपर्ने गरेर वस्तुगत अनुसन्धान गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए । 

कैलाली डिभिजन वन कार्यालयका प्रमुख ठाकुरले काठ व्यवसायी तस्कर समूहसँग मिलोमतो गरेर बहुमूल्य काठ तस्करी गराउन खोजेको स्थानीयको आरोप थियो । जहाँ गयो त्यहीँ पटकपटक विवादमा आउने वन हाकिमका कारण सुदूरपश्चिम प्रदेशको वन, वन्यजन्तु नासिँदै गएको जनताको गुनासो छ । कैलालीमा खटिएका वरिष्ठ वन अधिकृत जीवछ यादवले कार्यालयबाट खटाएकाले आफूहरू अनुसन्धानका लागि आएको बताएका थिए । 

साउन महिनामा कटानी, घाटगद्दीजस्ता कामकाज पूर्ण बन्द  गर्नुपर्ने भए पनि वस्तुगत प्रमाणितसहित माथिल्लो निकायको आदेशविना गर्न नपाउने अवस्थामा पनि कैलाली डिभिजनकै मिलोमतोमा यसरी काठ तस्करीका लागि बनाइएको योजना जनतादेखिका अन्य सरकारी निकायको चनाखोपनले चुहिएको छ । 
 

सुझावित समाचार