महाकाली अस्पतालमा टिकटमै दोब्बर शुल्क

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको एक सरकारी अस्पतालले बिरामी टिकटमै दोब्बर शुल्क बढाएको छ। सुदूरपश्चिम प्रदेश सरकारमातहत रहेको महाकाली प्रादेशिक अस्पतालले टिकटमै दोब्बर शुल्क बढाएको हो। गत आर्थिक वर्ष ०८२/८३ को जेठ महिनादेखि आकस्मिक र ओपिीतर्फ बिरामी टिकटमै दोब्बर शुल्क लिन थालेपछि बिरामीले गुनासो पोखेका छन्।

गत विगतमा ओपिडीतर्फ २५ र आकस्मिकतर्फ ५० रुपैयाँ टिकट शुल्क भए पनि अहिले बढाएर ओपिडीतर्फ ५० र आकस्मिकतर्फ एक सय रुपैयाँ पुर्याएको हो। सरकारी अस्पतालमा टिकटमै दोब्बर शुल्क लिन थालेको विषयमा गुनासो पोखिरहेका हुन् । 

उनीहरूले पालिका, प्रदेश र संघीय सरकारको सहयोग लगानीमा सञ्चालनमा रहेको अस्पतालमा टिकटमै दोब्बर शुल्क बढाएर गरिब, निमुखामाथि अन्याय गरेको बताइरहेका छन्। सेवाग्राही रतनराम लुहारले गत वर्ष ०८२ मा ओपिडी र आकस्मिक दुवैतर्फ २५–५० रुपैयाँ टिकट शुल्क भए पनि अहिले ०८३ मा आएर दोब्बर बढाएपछि आफूहरू मारमा परेको बताए । 

‘हुन त यो रकम न्यून नै हो, तर टिकटमै दोब्बरले वृद्धि गरे पनि अन्य भित्रका प्राविधिकसहितका सेवा औषधिमा पनि कतै वृद्धि गरेको त छैन भनेर हामीलाई आशंका उब्जाएको छ, उनले भने । अर्की सेवाग्राही गीतादेवी जोशीले गत वर्षसम्म वृद्धि नभएको टिकट शुल्क नयाँ समिति आएपछि वृद्धि गरेर आफूहरूजस्ता गरिबमाथि अन्याय गरेको दुःखेसो पोखिन् । 

‘अस्पतालमा थुप्रै समस्या होलान्, तर हामीजस्ता सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई मारमा पार्नुभएन नि, ‘उनले भनिन्, ‘वृद्धि गरिएको शुल्क अनुरूप हामीलाई सेवा दिनुपर्छ ।’ जनताको हकअधिकारका लागि भन्दै लड्ने नेपाली कांग्रेस, नेकपा एमाले नेतृत्वको प्रदेश सरकारका पालामा चयन भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिले टिकटमै दोब्बर शुल्क वृद्धि गरेपछि अन्य दलका मात्रै होइन स्वयं कांग्रेस, एमालेनिकट नेता–कार्यकर्ताहरूले समेत सरकारी अस्पतालको टिकट दोब्बर वृद्धि गर्न नहुने धारणा राखिरहेका छन् ।

बरु भएको शुल्क घटाएरै भए पनि अस्पतालमा प्रभावकारी सेवा दिनुपर्ने, अझै तीनै तहसहितका सरकारी, गैरसरकारी निकायबाट स्रोत जुटाएर गरिबलाई सहुलियत दिनुपर्नेमा जोड दिएका छन् । स्थानीय अखबरसिंह साउदले  चुनावका वेला प्रधानमन्त्री बालेनले आफूहरूले एजेन्डा गरिबलाई निःशुल्क स्वास्थ्य सेवा भने पनि महाकाली अस्पतालमा रास्वपा नेतृत्वको सरकार आएपछि टिकटमै दोब्बर शुल्क लगाएर गरिब जनताको  ढाड सेक्ने काम गरेको बताए । उनले चुनावका वेला बोलेका विषय पूरा गर्न महाकाली अस्पतालबाटै टिकटदेखिका सबै सेवा सुविधा निःशुल्क गरिदिन आग्रहसमेत गरेका छन् । 

चेकजाँचका लागि प्रथम प्रवेश टिकेटमै दोब्बर वृद्धि गरेपछि बिरामीलाई सुविधादेखि अस्पताल सुधारका लागि अहोरात्र खटिएको वर्तमान समिति, प्रशासनप्रति नागरिकमा नकारात्मक भावनाको उत्पन्न भएको छ। महाकाली प्रादेशिक अस्पतालले गत जेठबाटै वृद्धि गरिएको टिकट शुल्क साउनमा आएर गुनासो राख्ने विषयमा असान्दर्भिक  भएको जनाएको छ । 

महाकाली प्रादेशिक अस्पताल  व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले भने, टीकापुर, सेती प्रादेशिक अस्पतालको स्तरअनुरूप टिकट शुल्क वृद्धि गरिएको बताए । अध्यक्ष पन्तले मन्त्रालयसँग समन्वय गरेर टीकापुर र सेतीकै शुल्क बराबर पुर्याएको बताए । ‘अस्पताल पूरै घाटामा चलिरहेको छ, अस्पताल प्रशासनबाट समेत सबै सेवातर्फ रकम वृद्धिका प्रस्ताव आएका छन्, उता चिकित्सकहरूबाट समेत सेवा–सुविधा वृद्धिका लागि प्रस्ताव आएका छन्,’ उनले भने, ‘हामीले गरिब जनताका लागि निःशुल्क,सहुलियत सुविधामा वृद्धि गर्न नहुने भन्दै रोकेका छौँ, कुनै विपन्न गरिब सेवाग्राहीसँग टिकट काट्नसमेत पैसा नभए उनीहरूका लागि हामीहरूले पूर्ण निःशुल्क गरिदिएका छौँ ।’ वार्षिक डेढ करोड घाटामा अस्पताल सञ्चालन भइरहेको बताउँदै उनले अस्पताल सुधारका लागि सबै पक्षबाट सहयोग, सदभाव, समन्वय आवश्यक रहेको उनले बताए । 

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्रसिंह साउदले टिकट वृद्धिका लागि बैठकमा आएको प्रस्ताव आफूले स्वीकार नगरेको दाबी गर्दै पछि अन्ततः वृद्धि गरिएको बताए । ‘टिकट शुल्क वृद्धिको प्रस्ताव बैठकमा आयो, मैले र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराज्यूले अहिलेको परिस्थितिमा प्रदेश सरकारबाट बढीभन्दा बढी जनतालाई सुविधा दिनुपर्छ भन्ने प्रस्ताव राख्यौँ, हाम्रो प्रस्तावमा सुनुवाइ नै भएन, टिकट वृद्धिको निर्णय भएपछि त्यसको जस–अपजस हामीले पनि लिनुपर्छ ।’ 
 

सुझावित समाचार