विपन्न नागरिकको उठीवास लगाउने सप्तरीको खडक नगरपालिका कल्याणपुरका खुँखार मिटरब्याजी रामदेव साह तेलीलाई पक्राउ पुर्जी जारी भएको चार वर्ष बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । मिटरब्याजी तेलीलाई पक्राउ गर्न तत्कालीन प्रधानमन्त्रीले समेत निर्देशन दिएका थिए ।
विपन्नमाथि भएको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई टेलिफोनमार्फत निर्देशन दिएका थिए । तर, निर्देशन दिएको चार वर्ष बितिसक्दा पनि साह पक्राउ परेका छैनन् ।
तेलीले डेढ दशकयता मिटरब्याजमा सर्वसाधारणबाट करोडौँ असुल मात्रै गरेका छैनन्, साँवाको ६ गुना रकम उठाइसक्दा पनि ‘बन्धकी’ राखेको जग्गा फिर्ता गरेका छैनन् । आर्थिक समस्यामा परेका नागरिकलाई रामदेवले ब्याजमा ऋण लगाउँथे । तर, परिबन्धमा पारेर सर्त तेर्स्याउँथे, ‘भएको जग्गा आफ्नो नाममा पास गर्नुपर्छ, ऋण चुक्ता गरेपछि फिर्ता हुन्छ ।’ जग्गा नाममा ल्याइसकेपछि चर्को ब्याज असुल्थे । ऋण दिएको रकमको तीन–चार गुना असुल गरिसक्दा पनि जग्गा फिर्ता गरेका छैनन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का ७० वर्षीय रामप्रसाद खत्वेले घरायसी कामका लागि ०७४ मा साहुकार रामदेवसँग पाँच लाख ऋण लिएका थिए, ०७५ मा छोरी रञ्जनाको बिहे गर्दा फेरि सात लाख ऋण थपे । ऋण लिन आफ्नो नाममा रहेको शम्भुनाथ नगरपालिका– ११ स्थित कित्ता नम्बर ४७८ को १७ कट्ठा जग्गा रामदेवको नाममा पास गरे । अरूलाई झैँ खत्वेलाई पनि साहुकारले ‘ऋण चुक्ता गरेपछि जग्गा फिर्ता दिने’ बताएका थिए । अहिलेसम्म ४० लाख तिरिसके । तैपनि मिटरब्याजी रामदेवको बहिखाताबाट खत्वेको ऋण घटेको छैन, जग्गामा पनि साहुकारकै कब्जा छ । ‘१२ जनाको परिवार छ । बेरोजगार दुई छोरा छन्,’ रामप्रसादले पीडा सुनाउँदै भने, ‘ज्याला–मजदुरी गरेर जसोतसो परिवारको गुजारा चलाउँदै आएको छु, भएको जग्गा पनि साहु (रामदेव)कै नाममा छ । हामीजस्ता विपन्न दलितको समस्यामा चासो देखाउने कोही छैन हजुर । आन्दोलन गरेको यत्रो वर्ष भइसक्यो। राजविराजदेखि काठमाडौंसम्म गएँ। अझै न्याय पाएको छैन।’
यस्तै, बोदेबर्साइन नगरपालिका– ७ का मोहम्मद तैयव अलीले ०७१ सालमा छोरीको विवाहका लागि ३८ लाख ऋण लिएका थिए। अहिलेसम्म ९५ लाख रुपैयाँ तिरिसकेका उनी भन्छन्, ‘ऋण चुक्ता गरेपछि फिर्ता हुने गरी आफ्नो नाममा रहेको घरसहित एक बिघा १० कट्ठा जग्गा साहुको नाममा पास गरिदिएँ । अहिलेसम्म ९५ लाख तिरिसकेँ, तर साहुले जग्गा फिर्ता गरेको छैन। हेर्दाहेर्दै सुकुमवासी बनाइदियो।’
ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार तथा धनुषा खरिहानी टोल बस्ने कैलाश साह र पुष्पा साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए।
प्रहरीले तेलीका छोरा नन्दकिशोरलाई धरान बजारबाट र छोरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो। सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर र उनकी दिदी अनुराधालाई २२ असार ०७९ सालमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। सर्वोच्च अदालतको आदेशमा उनीहरू जनही ५०–५० लाख धरौटीमा थुनामुक्त भइसकेका छन्।
असार २६ गते धरानबाट पक्राउ परेकी शिवकुमारी पनि जिल्ला अदालतको आदेशमा २५ लाख धरौटीमा थुनामुक्त भइसकेकी छिन्। तर, रामदेवसहित अन्य पाँचजना भने अझै पक्राउ परेका छैनन् । रामदेवसहित छोरा विपिनकुमार, छोरी पुष्पा साह, नाति चन्दनकुमार साह र कैलाश साह फरार छन्।