सिम्रिक एयरले पोखरामा पूर्णकालीन स्काई डाइभको अनुमति पाएको छ । कम्पनीले भगिनी कम्पनी ‘इन स्काई स्काई डाइभ’मार्फत नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)बाट पूर्णकालीन स्काई डाइभ सेवा सञ्चालनको अनुमति प्राप्त गरेको हो ।
यसअघि ‘स्पेसल पर्मिसन’ लिएर मात्रै स्काई डाइभिङ गराइरहेको कम्पनीले अब भने पूर्णकालीन अनुमति पाएको हो ।
अमेरिकाबाट लाइसेन्स लिएका ‘जम्पर’हरू
कम्पनीसँग अनुभवी जम्परहरू रहेका छन् । यसअघि बैंकक, दुबईलगायतका देशमा जम्प गरिसकेका र नेपालमा पनि गर्दै आएका अनुभवी नेपाली युवाहरू यसमा समावेश रहेको सिम्रिक एयरले जनाएको छ ।
कम्पनीका अनुसार यसको कमान्डर रहेका नेपाली युवा ‘सेफ्टी इन्स्टक्टर’ पनि हुन् । उनले हालसम्म दुई हजार पाँच सयपटक जम्प गरिसकेका छन् ।
अहिले यसका लागि सिम्रिकसँग ६ जना युवाको टिम छ । उनीहरूमध्ये सिनियर (कमान्डरले दुई हजार पाँच सयपटक र बाँकी पाँचजनाले पनि दुई हजार पटकभन्दा बढी जम्प गरिसकेको कम्पनीले जनाएको छ । उनीहरू सबैले अमेरिकाबाट जम्पिङको लाइसेन्स पाएका हुन् ।
साहसिक पर्यटन प्रवर्द्धनको लक्ष्य
कम्पनीले नेपाललाई पदयात्रा र घुमफिर सँगसँगै साहसिक पर्यटकीय गतिविधिको अनुपम गन्तव्यका रूपमा चिनाउने लक्ष्यसमेत लिइएको जनाएको छ ।
सुरक्षित र साहसिक गतिविधिमार्फत नेपालको पर्यटन उद्योगमा नयाँ मानक स्थापित गर्ने उद्देश्यका साथ स्काई डाइभिङ सेवा सुरु गरेको जनाउँदै सिम्रिकले अब पूर्णकालीन अनुमति पाएसँगै यो क्षेत्र थप चलायमान हुने विश्वास लिइएको जनाएको छ । साथै, ‘एड्भेन्चर टुरिजम’मा रुचि भएका युवाहरूलाई नेपालमै यससँग सम्बन्धित विभिन्न अवसरहरू छन् भन्ने सन्देश दिनका लागि पनि पूर्णकालीन इजाजत लिएर सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई ‘एड्भेन्चर’ अनुभूति गराउनुका साथै यो मुलुकका लागि भरपर्दो ‘एड्भेन्चर टुरिजम प्रडक्ट’ भएको पनि कम्पनीको भनाइ छ ।