साउन १ देखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत काेदारीखण्ड सुचारु गर्न सडक विभाग बबरमहलमा छलफल गरिएको छ ।
सडक डिभिजन कार्यालय चरिकाेटका प्रमुख सिनियर डिभिजन इन्जिनियर नारायणदत्त भण्डारीले दिएको जानकारीअनुसार विज्ञसम्मिलित समितिले छलफल गरेको हो ।
नेपाल-चीन सीमा लिपिङनजिक काेदारीस्थित इकाे पहिराेमा निरन्तर सडक भासिएकाे र भाेटेकाेशी गाउँपालिका डाक्लाङनजिक चारकिलाेमा बस्तीमुनिबाट झरेकाे पहिराेले काेदारी राजमार्ग अवरुद्ध छ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे सडक विभागअन्तर्गत संघीय सडक प्रमुख साैजन्य नेपालकाे उपस्थितिमा बैठक बसेकाे हाे। भूगर्भविद् डा. मधुसूदन आचार्य, सडक विभागका सिनियर डिभिजन इन्जिनियर पूजन गिरी र केही निर्माण व्यवसायीसहित छलफलमा सहभागी थिए।
इकाे पहिराे र चारकिलाे पहिराे पन्छाउनेबारे विभिन्न विकल्पमा छलफल जारी रहेकाे खड्काले जानकारी दिए। स्थानीयसँग फिल्डमा गएर छलफल गर्ने र सहमतिमा पहिरो पन्छाउन सुरु गर्ने पहिलो विकल्पमा छलफल भएको छ। यद्यपि, पहिराे पन्छाएपछि भित्ताे कपेर नयाँ ट्रयाक निकाल्दा ४२ घरधुरी रहेकाे पन्थली बस्ती तान्निने जाेखिम छ।
यसबारे स्थानीयसँग सहमति भएको छैन। 'वर्षा राेक्किएपछि काम गर्ने, पहिराेमा भएको पानीको निकास बनाएर सुक्खा भएपछि गर्ने वा तत्काल अन्य विकल्प के हुन सक्छ भनेर छलफल जारी राखेका छाैँ,' उनले भने।
इमर्जेन्सीमा काम गर्न सक्ने ठेकेदार कम्पनीसँग छलफल भइरहेको उनले प्रस्ट्याए। छलफलकाे निष्कर्षपछि सडक विभागका महानिर्देशक डा. विजय जैसीले भाैतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई याेजना कार्यान्वयन प्रस्ताव गर्नेछन्।
अन्तर्राष्ट्रिय राजमार्ग १८ दिनदेखि बन्द हुँदा लाइफलाइनमा निर्भर सबै निकाय तथा समुदाय नराम्ररी प्रभावित भएका छन्। सवारीसाधन आवातजावत बन्द हुँदा खाद्य सामग्री र दैनिक उपभाेग्य वस्तुको अभाव भएको छ। तातोपानी भन्सार, अध्यागमन कार्यालय काेदारी र सुरक्षा निकायकाे काम ठप्प भएको छ।