स्थानीय तहले छाडा चौपायाको व्यवस्थापन नगर्दा सडक दुर्घटनाको जोखिम

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

बर्दियामा छाडा चौपायाको उचित व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला बनाएको भए तापनि छाडा चौपाया उचित व्यवस्थापन हुन नसक्दा सडक दुर्घटनाको जोखिम बढेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार आर्थिक वर्ष ०८२/८३ मा सवारी दुर्घटनामा परी पाँचवटाको मृत्यु र पाँचवटा घाइते भएका छन्। आर्थिक वर्ष ०८१/८२ मा सातवटा चौपायाको मृत्यु र दुईवटा घाइते भएका थिए। त्यस्तै, आर्थिक वर्ष ०८०/८१ मा छवटा चौपायाको मृत्यु भएको कार्यालयले जनाएको छ।

गुलरिया, बारबर्दिया, मधुवन, बाँसगढी, ठाकुरबाबा र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरेका छन्। तर, गौशालाको प्रभावकारी सञ्चालन र व्यवस्थापन हुन नसक्दा छाडा चौपाया सडकमै छाडिने समस्या कायमै रहेको छ।

गुलरिया नगरपालिका- ४ का अनिल परियारले  चोक–चौराहा र मुख्य सडकमा गाईगोरु, घोडा र गधा जथाभावी बस्ने गरेका छन्। उनले भने,'सडकमा यात्रा गर्दा कताबाट कुन छाडा पशु आएर ठोक्किने हो भन्ने थाहा हुँदैन। त्यसैले सबै सरोकारवाला जिम्मेवार भएर छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्नुपर्छ।'

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले  सडकमा छाडा चौपाया बस्ने वा हिँड्ने कारण पनि दुर्घटना हुने गरेको छ। उनले भने, 'छाडा गाईगोरु, घोडा र गधालाई गौशालामा व्यवस्थापन गर्ने तथा पशुपालक किसानलाई जिम्मेवार बनाउन सके सडक दुर्घटनाको जोखिम कम गर्न सकिन्छ।'

धेरै किसानले गाईले दूध दिने अवधिसम्म पालनपोषण गर्ने र दूध दिन छाडेपछि गाई तथा बाछाबाछीलाई खुला रूपमा छाडिदिने गरेका छन्। यसरी छाडिएका चौपायाले एकातिर सडक दुर्घटनाको जोखिम बढाइरहेका छ भने अर्कोतिर किसानको अन्नबालीमा समेत क्षति पुर्याइरहेका छन्।

सुझावित समाचार