सरकारी सेवा जागिर मात्र होइन, राष्ट्र निर्माणको ऐतिहासिक अवसर हो : मन्त्री श्रेष्ठ

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताएका छन्।

जल तथा ऊर्जा आयोगको सचिवालय, जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुवात नभई राष्ट्र निर्माणको अभियानमा आफूलाई समर्पित गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरे।

उनले अब केवल प्राविधिक जनशक्ति मात्र नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री श्रेष्ठले नेपाल अहिले ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको समुचित उपयोग तथा जलवायु परिवर्तन अनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको बताउँदै यी महत्त्वाकांक्षी लक्ष्यहरू नीति र बजेटले मात्र नभई दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्र पूरा हुने स्पष्ट पारे।

उनले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्त्व रहेको उल्लेख गर्दै सरकारी सेवामा प्राविधिक दक्षताभन्दा पनि नैतिक साहस कहिलेकाहीँ अझ महत्त्वपूर्ण बन्ने बताए। सहज र सहीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आएमा सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हुने उनको भनाइ थियो।

सुझावित समाचार