वैदेशिक रोजगारीका लागि युरोप जान भिसा लागेको खुसियालीमा लागुऔषध ब्राउनसुगर सेवन गरेका चार युवकलाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको हो।
०८१ फागुन १९ गते दिउँसो राप्ती गाउँपालिका– ३, मसुरीयास्थित पुरन कामीको घरमा प्रहरीले छापा मारेको थियो। सो क्रममा राप्ती– ३ का २३ वर्षीय पुरन कामी, रोल्पा घर भई भालुवाङ बस्ने छविलाल पुनमगर र गणेश बुढालाई ४५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरूको साथबाट विभिन्न मोबाइल सेट र नगद ११ हजार पाँच सय रुपैयाँसमेत बरामद गरेको थियो।
गणेश बुढाको युरोप जाने भिसा लागेको खुसियालीमा उनीहरूले मादक पदार्थ सेवन गरेका थिए। थप मनोरञ्जनका लागि ब्राउनसुगर मगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। पुरन कामीले स्थानीय जीवनबहादुर भट्टराईसँग पाँच हजार रुपैयाँमा ब्राउनसुगर खरिद गरी ल्याएको बयान दिएका थिए। भट्टराईलाई पनि प्रहरीले पछि पक्राउ गरी मुद्दा चलाएको थियो।
अदालतले प्रतिवादीहरू छविलाल पुनमगर र जीवनबहादुर भट्टराईलाई जनही चार महिना कैद सजाय सुनाएको छ। कैद सजाय तोकिएकामध्ये छविलाल एक महिना २५ दिन र जीवन एक महिना १० दिन हिरासतमा बसिसकेकाले सो अवधि कटाएर बाँकी कैद भुक्तान गर्नुपर्ने फैसलामा उल्लेख छ। साथै, अदालतले पुरन कामी, गणेश बुढा, छविलाल पुन मगर र जीवनबहादुर भट्टराई चारैजनालाई जनही दुई सय रुपैयाँ अपराध पीडित राहत कोषमा बुझाउन भनेको छ।
बयानका क्रममा प्रतिवादीहरूले आफूहरू कारोबारी नभई साथीभाइको लहलहैमा लागेर सेवन गरेकाले सुध्रने मौका पाऊँ भनी निवेदन गरेका थिए। अदालतले बरामद भएको पदार्थ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट ‘हेरोइन’ भएको पुष्टि भएपछि यो फैसला सुनाएको हो।