सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ५:३० बजे लालबन्दी नगरपालिका– १ स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी जाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट ठुलो परिमाणमा गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बिआर ०९ एम ३७६६ नम्बरको कारलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारको डिक्कीमा लुकाइछिपाई राखिएका २३ वटा पोकाबाट करिब १०९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपककुमार महतो र सोही स्थानका २५ वर्षीय अमन कुमार रहेका छन्। उनीहरूलाई गाँजा, कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।