पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विभाजनको प्रयासबाट टाढा रहेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउने काममा जिम्मेवार भूमिका निर्वाह गर्न देशवासीलाई अपिल गरेकी छिन्।
नेपाल कम्युनिस्ट पार्टीका पूर्वमहासचिव स्वर्गीय तुल्सीलाल अमात्यको स्मृति दिवसका अवसरमा तुल्सीलाल प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस्तो अपिल गरेकी हुन्।
‘केही दिनयता सुनसरीलगायत पूर्वी तराईका जिल्लामा भएको हिंसा र तनावले सबैको ध्यानाकर्षण गराएको छ। नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो। आपसी सम्मान, सहिष्णु, सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार हो। आजको संवदेनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइलाई संयमता अपनाउन, अफवाह, घृणा र विभाजनको प्रयासबाट टाढा रहन सधैँ राष्टिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन आआफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गर्दछु,’ भण्डारीले भनिन्।
स्वर्गीय अमात्यले कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिकामा रहँदै पार्टी निर्माण, किसान आन्दोलन, लोकतान्त्रिक अधिकार, शोषित श्रमजीवी जनताको संघर्ष संगठित गर्न विशेष योगदान पुर्याएको चर्चा गर्दै भण्डारीले उनको त्याग र समर्पण तथा आदर्श मूल्यलाई वर्तमान जीवनमा आत्मसात गर्नुपर्नेमा जोड दिइन्।