निर्मल पुर्जाको जन्मथलो अन्नपूर्णमा सोमबार शोकबिदा

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

पाकिस्तानस्थित  ब्रोड पिक (८,०४७ मिटर) हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोकबिदा घोषणा गरेको छ।

निर्मल पुर्जा अन्नपूर्ण गाउँपालिका– २, दाना निवासी हुन्। गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली तथा सम्मान प्रकट गर्दै सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोकबिदा दिने निर्णय गरेको जनाएको छ।

गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा सम्पूर्ण नेपालीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ।

सूचनामा नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन, नेपाली आरोहीहरूको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ।

गाउँपालिकाले पुर्जाको निधनले नेपालसँगै विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको जनाएको छ। साथै, शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ।

सुझावित समाचार