फ्रान्स र स्पेनका विभिन्न क्षेत्रमा फैलिएको डढेलोका कारण दसौँ हजार मानिस विस्थापित भएका छन् । दुई सातादेखि फैलिएको डढेलोका कारण यी दुई देशमा तीन लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बिबिसीले जनाएको छ ।
फ्रान्सको बोर्डो सहरनजिक फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रक निरन्तर प्रयासरत छन् । डढेलोका कारण बोर्डोका दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । फ्रान्सका आन्तरिक मामिलामन्त्री लोराँ नुन्यजले उक्त क्षेत्रको अवस्था अझै पनि भयावह रहेको बताए । बोर्डोको दक्षिणी गाउँका ५० हजारलाई सुरक्षित क्षेत्रतर्फ लगिएको छ । उक्त क्षेत्र फलफुल, विशेषगरी अंगुरका लागि चर्चित छ ।
अहिलेसम्म आगो निभाउने क्रममा दुई अग्नि नियन्त्रकको मृत्यु भएको छ । त्यस्तै, स्पेनमा एक सातादेखि फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । मेड्रिड र अभिलावरपरका क्षेत्रबाट झन्डै एक लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोबाट हजारौँ हेक्टर भूभाग प्रभावित छ । डढेलो नियन्त्रण गर्न सयौँ अग्नि नियन्त्रक खटिएका छन् । फ्रान्स र स्पेनबाहेक युरोपका अन्य देशमा पनि डढेलो फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
म्याड्रिडको पश्चिममा फैलिएको डढेलो म्याड्रिडतर्फ अघि बढ्न ढिलो भए पनि सक्रिय र अनियन्त्रित रहेको क्षेत्रीय अधिकारीले बताएका छन् । म्याड्रिडको स्थानीय सरकारले आगो अझै सक्रिय रहेकाले बासिन्दालाई अत्यन्त सतर्क रहन आग्रह गरेको छ । यसैबिच म्याड्रिडका क्षेत्रीय अध्यक्ष इसाबेल डियाज आयुसोले आगो नियन्त्रण गर्ने र आफ्नो ज्यान जोखिममा पार्ने सयौँ अग्नि नियन्त्रकको कामको प्रशंसा गरेकी छिन् ।