- आगामी निर्वाचनमा अध्यक्ष पद नै धरापमा पर्ने देखेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानीकर्तालाई विश्वकप बेच्ने योजना फिर्ता लिए
चौतर्फी विवादपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले प्रस्तावित निजी लगानीको योजना रद्द गरेका छन् । युरोपेली फुटबल महासंघ (युइएफए), एसियाली फुटबल महासंघ (एएफसी)देखि अधिकांश राष्ट्रले व्यापक विरोध गरेपछि फिफा अध्यक्ष इन्फान्टिनोले प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको घोषणा गरेका हुन् ।
इन्फान्टिनोले भनेका छन्, ‘यो परियोजनाले विभाजन सिर्जना गरेको छ । अब यसको मूल उद्देश्य हितमा नरहेको स्पष्ट भयो । त्यसैले यो प्रस्ताव अब अघि बढाइनेछैन ।’ इन्फान्टिनोले फिफाका २११ सदस्य संघलाई पुरुष तथा महिला विश्वकपसहित फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गरे प्रत्येक संघलाई चार करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव पनि गरेका थिए । तर, युइएफएका ५५ सदस्य संघले योजना कार्यान्वयन भए विश्वकप बहिष्कार गर्ने निर्णय गरेका थिए । यसपछि एएफसीसँगै उत्तरमध्य अमेरिका, क्यारेबियन फुटबल महासंघ (कन्काकाफ)ले ऐक्यबद्धता जनाएका थिए ।
योजना पूरा हुन २११ सदस्यमध्ये कम्तीमा १०६ सदस्यको समर्थन आवश्यक थियो । युइएफएसँग ५५, कन्काकाफसँग ३५ र एएफसीसँग ४६ मत छन् । यदि सबै सदस्य संघले आफ्ना महासंघको निर्णयलाई समर्थन गरेको भए कुल १३६ मत इन्फान्टिनोको प्रस्तावविरुद्ध जाने निश्चित थियो । यता, इन्फान्टिनोको यो निर्णयपछि फिफाका विश्वव्यापी रणनीति तथा सुशासनसम्बन्धी वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले ‘खराब सम्झौता’ भन्दै राजीनामा दिएका थिए ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले इन्फान्टिनोलाई ‘फिफाको नेतृत्वका लागि गलत व्यक्ति’ भनेका थिए ।
अर्को कार्यकाल खतरा
५६ वर्षीय इन्फान्टिनो अर्को मार्चमा हुने फिफा महाधिवेशनमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने तयारीमा थिए । तर, उत्तर अमेरिकामा भएको विश्वकपपछि उनी लगातार विवादमा तानिएका छन् । विशेषतः अमेरिकी खेलाडीलाई दिएको रातो कार्ड फिर्ताले उनको योजनामा धक्का लागेको छ । इन्फान्टिनो सन् २०१६ मा ११५ मतका साथ एएफसी अध्यक्ष सेख सलमान अल खालिफा (८८ मत)लाई पराजित गर्दै फिफा अध्यक्ष बनेका थिए ।
फिफाको ७७औँ महाधिवेशन आगामी मार्चमा मोरोक्कोमा हुनेछ । उम्मेदवारी दर्ताको अन्तिम मिति नोभेम्बर १८ तोकिएको छ । विश्वकपअघि सम्म इन्फान्टिनो निर्विरोध पुनः निर्वाचित हुने अनुमान गरिएको थियो । युरोपसहित विश्वका धेरै सदस्य संघले उनलाई समर्थन गर्ने संकेत दिएका पनि थिए । तर, विश्वकपको घटनाबाट सुरु भएको विरोध निजी कम्पनी भित्र्याउने योजना झिकेपछि झनै बढेको छ ।