धार्मिक तथा सामाजिक सद्भावका लागि हेटौँडामा ऐक्यबद्धता र्‍यालीको आयोजना

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण

सुनसरीको देवानगन्ज र त्यसपछि देशका विभिन्न स्थानमा देखिएको साम्प्रदायिक तनावका घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न शनिबार बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत् सद्भाव र्याली आयोजना गरिएको छ ।

सर्वधर्म समाज नेपालको समन्वय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ मकवानपुरलगायत विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा भएको र्यालीमा विभिन्न धर्म, जाति, समुदाय र क्षेत्रका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो । 

पछिल्ला घटनाले समाजमा विभाजन र अविश्वासको वातावरण सिर्जना हुन नदिन तथा विविधताबिचको एकतालाई थप सुदृढ बनाउने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
र्यालीमा जनप्रतिनिधि, विभिन्न धार्मिक संघसंस्था, सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, विद्यार्थी, युवा तथा सर्वसाधारण सहभागी भएका थिए ।

हेटौँडाको मुख्य बजार गुन्जियो सद्भावका नारा

हेटौँडा–४ स्थित हुप्रचौरबाट सुरु भएको र्याली शीतलमहलचोक, कपुर कम्प्लेक्स, बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ हुँदै हेटौँडा–२ स्थित संगमचोक पुगेर सद्भाव सभामा परिणत भएको थियो । र्यालीका क्रममा सहभागीहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको पक्षमा विभिन्न सन्देशमूलक नारा लगाएका थिए ।

‘हिमाल, पहाड, तराई–कोही छैन पराई’, ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’, ‘सबै नेपाली एक हौँ’, ‘हातेमालो गरौँ, सद्भाव बढाऔँ’ जस्ता नाराले हेटौँडाको मुख्य बजार क्षेत्र गुन्जायमान बनेको थियो । सहभागीहरूले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक पहिचानलाई राष्ट्रिय शक्तिका रूपमा जोगाउन सबै समुदायबिच आपसी सम्मान, सहिष्णुता र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।

सभालाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नेपालको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक समाजको आधार भएको बताए । उनले कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति वा उक्साहटपूर्ण गतिविधिले समाजमा विद्यमान आपसी विश्वास र सम्बन्धमा असर पार्न सक्ने भएकाले सबै नागरिकलाई जिम्मेवार र सचेत बन्न आग्रह गरे ।

उनले सामाजिक सद्भाव कायम राख्ने दायित्व प्रशासनको मात्र नभई राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा आमनागरिक सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे । ‘समाजमा आपसी विश्वास, सम्मान, सहकार्य र सहअस्तित्व कायम राख्न सबै पक्षको सक्रिय भूमिका आवश्यक छ । यस्ता सद्भाव र जनचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ,’ उनले भने ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतम, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा, सुरक्षा निकायका प्रमुख तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले धार्मिक तथा सामाजिक विवाद समाधानका लागि संवाद, सहिष्णुता र कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

बागमतीमा सद्भाव जोगाउने प्रयास

सुनसरी घटनापछि देशका केही जिल्लामा तनाव देखिएसँगै बागमती प्रदेश सरकारले पनि सुरक्षा अवस्थाको निरन्तर समीक्षा गरिरहेको छ ।

प्रदेशस्तरमा सुरक्षा संयन्त्रसँग समन्वय बैठक गरी सम्भावित संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको छ भने जिल्ला प्रशासन कार्यालयहरूले पनि स्थानीय तह, धार्मिक संघसंस्था र नागरिक समाजसँग समन्वय गरी सद्भाव कायम राख्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सद्भाव र्यालीका आयोजकहरूले सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, घृणाजन्य अभिव्यक्ति र साम्प्रदायिक उत्तेजना फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै नेपालको सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कुनै पनि हालतमा कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुझावित समाचार