कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सुरही बृजमुनि रहेको खोलामा नुहाउने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवराज नगरपालिका–४ निवासी २६ वर्षीय विजय जयसवाल रहेका छन्। जयसवाल शुक्रबार दिउँसो नुहाउन गएका क्रममा खोलामा डुबेका थिए।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार घटनापछि तत्काल खोजी गरी उनलाई खोलाबाट बाहिर निकालिएको थियो। उपचारका लागि आधारभूत अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार शव आधारभूत अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।