सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सप्तरीमा आइतबार सामाजिक सद्भाव र्याली आयोजना गरिने भएको छ। नेपाल पत्रकार महासंघमा शुक्रबार बसेको बैठकले शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र्याली गर्ने निर्णय गरेको हो।
‘सुनसरी र सिराहाको घटनापछि सप्तरी जिल्लामा विकसित घटनाक्रमलाई साम्य पार्ने हामी सबैको जिम्मेवारी हो,’ पापडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार बिहान ८ बजे राजविराजस्थित शिव मन्दिर प्रांगणबाट सद्भाव निकाल्ने।’ सो र्यालीमा सहभागिता जनाउन सबै जातजाति, धर्म, संस्कृतिका साथै सबै क्षेत्रका व्यक्तिहरूलाई अनुरोध गरिएको छ।
बैठकबाट गोली लागेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी आउन नदिन सरकारसँग माग गरिएको छ।
साथै, जिल्लामा वर्तमान अवस्थामा देखिएको खाना पकाउने ग्यास तथा इन्धनको आपूर्ति अविलम्ब सहज बनाउन पनि स्थानीय प्रशासनसँग आग्रह गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए।