एनएसजेएफ कपको उपाधि रिपोर्टर राइनोजलाई

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ कप’ फुटसलको उपाधि रिपोर्टर राइनोजले जितेको छ। बिहीबार काठमाडौंको शेषमतीस्थित टिपटोइ स्पोर्ट्स एकेडेमीमा भएको फाइनलमा रिपोर्टर राइनोजले बाइलाइन बान्डिट्सलाई ६–३ ले हरायो।

रिपोर्टरको जितमा नायक पौडेलले ह्याट्रिक गरे। अभिनव जोशी र निर्मल खड्काले समान एक गोल गरे। उपविजेता बाइलाइनको लागि अमनप्रताव अधिकारीले दुई गोल गर्दा अनुप महर्जनले एक गोल फर्काए।

एकदिने प्रतियोगितामा कूल चार टिम सहभागी भएका थिए। हेडलाइन हुरिक्यान्स र फ्युचर फ्यान्टम्स समूह चरणबाटै बाहिरिए। रिपोर्टर र बाइलाइनले समान ६ अंक जोड्दै सिधै फाइनलमा स्थान बनाएका थिए। हेडलाइनको चार अंक रहँदा बाइलाइन भने मात्र एक अंकमा सिमित रह्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी च्याम्पियन रिपोर्टरका नायक पौडेल चुनिए। यस्तै, सर्वाधिक गोलकर्ता पनि रिपोर्टरकै अभिनव जोशी घोषित भए। उनले कूल १० गोल गरेका थिए।

यस्तै, उदीयमान खेलाडी हेडलाइनका शिशिर बस्नेत, सर्वोत्कृष्ट गोलकिपर उपविजेता बाइलाइनका जेनिश बाडे र उत्कृष्ट महिला खेलाडी मुना कार्की घोषित भए।

प्रतियोगितामा विजेता र उपविजेतासहित उत्कृष्ट खेलाडीलाई एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी, महासचिव अञ्जन खड्का, पूर्वअध्यक्षद्वय अजय फुँयाल तथा महेश आचार्य, टिपटोइ स्पोट्र्स एकेडेमीका संचालन गौरव बस्नेत र सिइओ सुवास न्यौपानेले पुरस्कृत गरेका थिए।

यसबीच एनएसजेएफ र टिपटोइ स्पोट्र्स एकेडेमीबीच मैत्रीपूर्ण खेल आयोजना भएको थियो। निर्धारित समयको खेल ३–३ को बराबरीमा सम्पन्न हुँदा सडनडेथमा टिपटोइ विजयी भयो।

एनएसजेएफका अध्यक्ष अधिकारीले आगामी भदौ १८ गते हुने पल्सर स्पोर्ट्स अवार्डको तयारी तथा खेलकुद पत्रकारबीच भाइचारा सम्बन्ध विस्तारको लागि एकदिने प्रतियोगिता आयोजना गरेको बताए।

सुझावित समाचार