विशेषज्ञ डाक्टर नहुँदा रोल्पा अस्पतालमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

रोल्पा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रिया तथा जटिल प्रकृतिको प्रसूति सेवा अवरुद्ध भएको छ। मेडिकल सुपरिटेन्डेन्टसहित ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एकजना पनि विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रियाका सम्पूर्ण सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो।

रोल्पाको रेउघामा रहेको रोल्पा अस्पतालमा निक साइमन इन्स्टिच्युटले उपलब्ध गराएको एमडिजिपीसहितको चिकित्सक टोलीलाई फिर्ता बोलाएपछि उक्त सेवा बन्द भएको हो। सुविधा सम्पन्न भवन निर्माण गरिएको भए पनि विशेषज्ञ सेवा भने प्रभावकारी तरिकाले सुचारु हुन सकेको छैन।

‘निक साइमन इन्स्टिच्युटले दिएको एमडिजिपी डाक्टरको नेतृत्वमा शल्यक्रियाका कामहरू भइरहेका थिए,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यप्रताप रैदासले भने, ‘चलिरहेको सेवा अवरुद्ध हुँदा हामीलाई पनि अप्ठ्यारो लागेको छ।’ विशेषज्ञ सेवा पूर्ण रूपमा अवरुद्ध हुने कुरा गत वैशाखमै थाहा हुँदाहुँदै पनि सरोकारवाला सबै चुपचाप बसेको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी बताउँछन्। असारपछि सेवा रोकिनेबारे सबैतिर जानकारी गरिए पनि पूर्णतः बेवास्ता गरिएको डाँगीको भनाइ छ।

शल्यक्रिया र जटिल प्रकृतिका प्रसूति सेवा बन्द भएपछि रोल्पाबासीले थप सास्ती व्यहोरिरहेका छन्। ५० शय्याको विशेषज्ञ सेवासहितको प्रादेशिक अस्पताल भनिए पनि विशेषज्ञ डाक्टर शून्य छ। दैनिक १ सयदेखि ३ सय जनासम्म बिरामीले सेवा लिइरहेको अस्पतालमा अहिले ६ जना मेडिकल अधिकृतले सेवा दिइरहेका छन्। 

यता अस्पताल विकास समितिले भने विशेषज्ञ सेवालाई निरन्तरता दिन प्रदेशमा पदपूर्तिका लागि पहल भइरहेको जनाएको छ। ‘कम्तीमा पनि जटिल प्रकारको प्रसूति शल्यक्रिया सेवालाई सुचारु गरौँ भनेर प्रदेश सरकार र मन्त्रीलाई पटक-पटक भनिएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापाले भने, ‘आश्वासन पाइरहेकै छौँ, तर अहिलेसम्म डाक्टर पाइएको छैन।’ विशेषज्ञ डाक्टर नहुँदा५० शय्याको अस्पताल रेफरल सेन्टरजस्तो भएको छ।

रोल्पा अस्पतालको भौतिक पूर्वाधार राम्रो भए पनि दरबन्दीअनुसारको सेवा भने पूरा हुन सकेको छैन। अहिले अस्पतालमा विद्युतका कारण भन्दै कोरोनाकालमा स्थापना गरिएको अक्सिजन प्लान्ट बन्द छ। त्यसका साथै विराट मेडिकल कलेजले निर्माण गरिदिएको फिल्टरसहितको खानेपानी सेवा पनि बन्द अवस्थामा छ।
 

सुझावित समाचार