साम्प्रदायिक सद्भाव, एकता, सहकार्य र शान्तिका पक्षमा अध्यक्ष ओलीको चारबुँदे अपिल

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले सुनसरीसहित तराईमा फैलिरहेको साम्प्रदायिक तनावबाट उत्पन्न समस्या समाधानका लागि राजनीतिक दल, धार्मिक संघ–सरोकारवालाहरूलाई चारबुँदे अपिल गरेका छन्।

साम्प्रदायिक सद्भाव, एकता, सहकार्य र शान्तिका पक्षमा सबैलाई सक्रियतापूर्वक अग्रसर हुन गम्भीर ध्यानाकर्षण गराउँदै ओलीले अपिल जारी गरेका हुन्।

जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुन आग्रह गर्दै ओलीले कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन सबैलाई आग्रह गरेका छन्।

राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकारले देखाएको मौनता शंकास्पद देखिएको भन्दै उनले हिंसात्मक कदम तत्काल रोकी संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्।

‘मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका वेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ,’ ओलीले अपिल गरेका छन्।

सुझावित समाचार