सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी : ‘गैरजिम्मेवार शैली’ भन्दै आलोचना

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

सरकारको नेतृत्व गरेको दल रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको बुधबारकाे सर्वदलीय बैठकमा दलका नेताहरूले सुनसरी घटना भएको तीन दिन बित्दासमेत अहिलेसम्म यथार्थ विवरणसमेत बाहिर नल्याएको र सुरक्षाकर्मीमार्फत अधिक बल प्रयोग गरी तनाव बढाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री बोलन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको आलोचना गरेका छन् ।

देशमा धार्मिक–साम्प्रदायिक दंगाजस्तो गम्भीर घटना हुँदासमेत प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग संवाद गर्न नचाहेको र एकताका साथ अघि बढेर परिस्थिति सामान्यीकरण गर्न भूमिका नखेलेकोप्रति नेताहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । सर्वदलीय बैठकमा उपस्थित नभएकोमा समेत नेताहरूले असन्तुष्टि जनाएका छन् ।

तर, रास्वपा सभापति रवि लामिछानले प्रधानमन्त्रीको बचाउ गर्दै राजनीतिक पार्टीहरूले साझा धारणा तय गरेर सरकारको ध्यानाकर्षण गराउन खोजिएका कारण राजनीतिक हिसाबले शीर्ष नेताहरूको बैठक डाकिएको प्रस्ट्याए ।

बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति गगन थापाले मुलुक गम्भीर परिस्थितिमा हुँदासमेत प्रधानमन्त्री शाहमा ठालु प्रवृत्ति देखिएको भन्दै कठोर आलोचना गरे ।

नेकपाका संयोजक प्रचण्डले पनि प्रधानमन्त्रीको उदासीनताको आलोचना गरे । एमाले महासचिव पोखरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रधानमन्त्रीले संयुक्त पहलका लागि अग्रसरता नलिएकामा आलोचना गरे । 

सुझावित समाचार