महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण
  • १९औँ एसियाडमा पहिलो सहभागितामै कांस्य जितेको महिला टोलीले जापानमा हुने प्रतियोगिताका लागि एक महिना भारतमा प्रशिक्षण गर्ने 

नेपाली महिला कबड्डी टोलीले २०औँ एसियाली खेलकुद (एसियाड)को तयारी भारतमा गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोलीपछि महिलाले पनि भारतमै प्रशिक्षण गर्न लागेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रशिक्षण गर्न महिला टोली बिहीबार भारतमा जानेछ । जापानको आइची र नागायामा आगामी असोजमा एसियाड खेलकुद प्रतियोगिता हुँदै छ ।

तीन वर्षअघि कबड्डीले ऐतिहासिक रूपमा चीनको हाङझाउमा नेपाललाई कांस्य दिलाएको थियो । कबड्डीले १९औँ संस्करणमा पदकको खाता महिला कबड्डीले दिलाएको थियो । महिला कबड्डीले सहभागिता जनाएको पहिलोपटक नै पदक जितेको थियो । यसपटक पनि टोलीको लक्ष्य पदक नै हुनेछ । यस्सै उपलब्धि हात पार्न निमित्त महिला टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्न लागेको हो ।

एक महिनाको प्रशिक्षणछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिनेछ । २ असोजमा टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापानमा जानेछ । एसियाली खेलकुद ३ असोजदेखि सुरु हुनेछ । महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडू, रविना चौधरी, मेनुका राजवंशी, मीना नेपाली, खिममाया खत्री र गंगा घिमिरे छन् । यसैगरी सिर्जनाकुमारी थारू, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन् । खिममायाको २०औँ एसियाड डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

अनुजा कुलुङ राई भने प्राविधिक कारण (मेडिकल) २०औँ एसियाडमा सहभागी नहुने भएकी छिन् । उनको स्थानमा कुन खेलाडीलाई राख्ने भन्ने चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिएका छन् । ‘छिट्टै रिक्त स्थानको पदपूर्ति गछौँ,’ उनले भने । मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी रहेका छन् ।

हाङझाव एसियाडमा पदक जितेकामध्ये ६ खेलाडी अहिलेको टोलीमा छन् । मानमति, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जन पदक जितेका टोलीका सदस्य हुन् । हाङझाव एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिइन् ।

नेपाल समूह ‘बी’मा 
एसियाडमा महिला कबड्डीमा आठ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएको छ । समूह ‘बी’मा रहेको नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईसँग खेल्नेछ । ताइपेई गत संस्करणको उपविजेता हो । फाइनलमा ताइपेई भारतसँग समग्रमा १ अंकको अन्तरले पराजित हुँदा रजतमा सीमित भएको थियो । समूह ‘ए’मा इरान, जापान, बंगलादेश र भारत छन् । पछिल्लो समयमा महिला कबड्डी टोलीले इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बिच खेलकुदमा कांस्य जितेको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले बिदाइ गर्दै पदकको धेरै आशा गरेको बताए । ‘हामीलाई आशा छ यसपटक पनि महिला कबड्डीले नेपाललाई निराश बनाउनेछैन,’ मेहताले भने, ‘राम्रो तयारी गर्नुस् र पदकका साथ फर्कनुस् ।’ 

सुझावित समाचार