कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ गराएपछि मुख्यमन्त्री शाहीले पदभार ग्रहण गरेका हुन्।
मुख्यमन्त्री शाहीले शपथग्रहणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्दै शासकीय सुधार गर्ने निर्णय गरेका छन्। मुख्यमन्त्रीले प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका विकास आयोजनाहरूको प्रगति विवरण सहज रूपमा देख्न सकिने गरी आयोजना ट्र्याकिङ सिस्टम स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेका छन्।
शासकीय सुधारका नयाँ तथा नवप्रवर्तनीय औजारको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार गर्ने सम्बन्धमा आवश्यक नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने उनको निर्णय छ।
मुख्यमन्त्री शाहीले सबै प्रकारका विपतको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गर्ने तथा विपद्का वेला तत्काल उद्धार र प्रतिकार्यका लागि क्विक रेस्पोन्सलगायतका कार्यलाई प्राथमिकता दिने निर्णय गरेका छन्।
नवनियुक्त मुख्यमन्त्री शाहीले पदभार ग्रहणकै दिन विकास आयोजनाको प्रभावकारी अनुगमन, शासकीय सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा विपत् व्यवस्थापनलाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरेका छन्।