प्रहरीले धनकुटाबाट लागुऔषध (प्रतिबन्धित औषधl)सहित एकजना युवालाई पक्राउ गरेको छ । सहिदभूमि गाउँपालिका– ६ पानीटारबाट प्रतिबन्धित औषधिसहित स्थानीय १८ वर्षीय रविन राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनको घरमा गरिएको खानतलासीका क्रममा ठुलो परिमाणमा प्रतिबन्धित औषधिजन्य लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा प्रहरी चौकी आँखीसल्लाबाट प्रहरी सहायक निरीक्षक अजयकुमार राईको नेतृत्वमा खटिएको टोलीले राईको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो ।
खानतलासीको क्रममा प्रहरीले ट्रामोल– ५० का ७५ पत्ता (७५० क्याप्सुल), डाइसाइक्लोमिन हाइड्रोक्लोराइड आइपी २० मिलिग्रामका ४६ पत्ता (४६० ट्याब्लेट) तथा डाइसाइक्लोमिन एचसिआई आइपी २० मिलिग्रामका ३७ पत्ता (३७० ट्याब्लेट) बरामद गरेको जनाएको छ। बरामद गरिएको प्रतिबन्धित औषधिसहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।