नौ मेगावाटको खिम्ती घ्वाङ जलविद्युत् परियोजनामा एनएमबि बैंकले एक अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । परियोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनमबि बैंकबिच मंगलबार वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।
सम्झौतामा एनएमबि बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचद्र दुलालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले दोलखा जिल्लाको जिरी नगरपालिका– १ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका– १ को सीमा भएर बहने खिम्ती घ्वाङखोलामा निर्माण भइरहेको यो आयोजना ०८४ चैतमा सम्पन्न गर्ने गरी कार्य भइरहेको जनाएको छ ।
आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति गत वैशाख १५ गतेको मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ । आयोनाका लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवासगृह आदिको निर्माण सम्पन्न भएको छ ।
यस्तै, सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माणको ठेक्का सम्झौता भइसकेको छ । त्यसमा हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
आयोजना निर्माणका लागि लाग्ने एक अर्ब ८० करोडमध्ये एक अर्ब २४ करोड ऋण लगानीका लागि एनएमबि बैंकसँग आज समझदारी भएको हो । बाँकी ५६ करोडमध्ये ३५ करोड जुटिसकेको र ३० करोड असोजभित्रमा जुटाउने गरी काम भइरहेको जानकारी कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले बताए ।
यो गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने आयोजना हो । नेपालमा हाल बनिरहेका जलविद्युत् आयोजनामध्ये यो हाइड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तरा मापदण्ड पूरा गर्ने यो नै पहिलो आयोजना हो ।