कृषि बजार एप ‘एएमपिआइएस नेपाल’ सञ्चालनमा

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

कृषकलाई कृषिउपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषिउपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ ।

मन्त्रिपरिषद्को गत १३ चैतमा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको ‘कृषिउपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने’ कार्यक्रम कार्यान्वयनका लागि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा उक्त मोबाइल एप सञ्चालनमा ल्याइएको हो ।

मन्त्री चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुनुनपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याइएको बताइन् । उनले कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधिको प्रयोग विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गरिन् । 

यसअघि कृषि विभागको वेबसाइटमार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई थप स्तरोन्नति गर्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा कालीमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलका लागि उपलब्ध ‘एएमपिआइएस नेपाल’ एपमार्फत पनि सार्वजनिक गर्न थालिएको हो ।

यस एपमार्फत कृषक तथा सरोकारवालाले कृषिउपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, बजारअनुसार मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमी सल्लाह बुलेटिनसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

सुझावित समाचार