उद्योगमन्त्री यादव र रुसी राजदूतबिच भेटवार्ता

हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन सहकार्यको प्रस्ताव

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

हाल बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनका लागि सरकारले रुससँग सहकार्यको प्रस्ताव गरेको छ । लामो समयदेखि बन्द हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि नेपालले सहकार्यको प्रस्ताव राखेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबिच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको थियो । सोही क्रममा मन्त्री यादवले रुसको प्राविधिक तथा आवश्यक सहयोग मागेकी हुन् ।

नेपाल–रुसबिचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । 

मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले उठाएका प्रस्तावमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाए । उनले नेपाल–रुसबिच व्यापार तथा आर्थिक फोरममार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा वर्तमान नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले दुई देशबिचको आर्थिक तथा औद्योगिक सहकार्य आगामी दिनमा अझ मजबुत हुनेसमेत बताए । 

सोही अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकासमन्त्रीका तर्फबाट मन्त्री यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेको पनि मन्त्रालयले जनाएको छ । मन्त्री यादवले उक्त निमन्त्रणा स्वीकार गर्दै दुई देशबिचको सहकार्यलाई थप उचाइमा पुर्याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरिन् । 

सुझावित समाचार