- माओवादी विद्रोहलाई शान्तिपूर्ण राजनीतिक अवतरण गराउने आधार मानिएको १२ बुँदे समझदारीमा गोपालमान श्रेष्ठले तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का कार्यवाहक सभापतिको हैसियतमा हस्ताक्षर गरेका थिए, ८३ वर्षको उमेरमा मंगलबार त्यागे देह
माओवादी विद्रोहलाई शान्तिपूर्ण राजनीतिक अवतरणको पहिलो आधार मानिएको १२ बुँदे समझदारीका एक हस्ताक्षरकर्तासमेत रहेका कांग्रेस वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ । तत्कालीन सात राजनीतिक दल र माओवादीबिच ७ मंसिर ०६२ मा १२ बुँदे समझदारी हुँदा श्रेष्ठले तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का कार्यवाहक सभापतिको हैसियतमा हस्ताक्षर गरेका थिए । विभिन्न दलका नेताहरूले उनको निधनको खबरले स्तब्ध बनाएको तथा लोकतान्त्रिक आन्दोलनमा उनको भूमिकाको स्मरण गरेका छन् ।
एक वर्षदेखि पेटको क्यान्सरबाट पीडित श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलियस अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बुधबार बिहान बस्ने केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ । त्यसपछि श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ देखि ११ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा राखिने भएको छ । शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको दुलालले बताए ।
स्वास्थ्य अवस्था चिन्ताजनक रहेका वेला कांग्रेसले उनलाई वरिष्ठ नेता बनाएको थियो । सभापति गगन थापाले अस्पतालमै पुगेर श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका थिए । यद्यपि, केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन हुन बाँकी छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहमा लामो समयसम्म लागेका श्रेष्ठ पुरानो समूह त्याग्दै गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिए । देउवाले कांग्रेस विभाजन गरेर बनाएको कांग्रेस प्रजातान्त्रिकमा श्रेष्ठ उपसभापति र कार्यवाहक सभापतिसमेत भएका थिए । त्यही वेला उनले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको शासन कालमा कांग्रेस प्रजातान्त्रिकका सभापति देउवा भने जेलमा थिए ।
१२ बुँदे समझदारीमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल, तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का कार्यवाहक सभापति श्रेष्ठ, तत्कालीन जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, तत्कालीन नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का उपाध्यक्ष भरतविमल यादव, तत्कालीन संयुक्त वाममोर्चाका अध्यक्ष कृष्णदास श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले हस्ताक्षर गरेका थिए । सोही जगमा ०६२/६२ को आन्दोलन, शान्ति प्रक्रिया र विस्तृत शान्ति सम्झौता, २०६३ सहित नयाँ राजनीतिक अध्याय सुरु भएको थियो ।
स्याङ्जाबाट पटक–पटक सांसद निर्वाचित श्रेष्ठले विभिन्न मन्त्रालय सम्हालेका थिए । राजनीतिक आन्दोलनका क्रममा विभिन्न समयमा गरी उनले पाँच वर्ष जेलजीवन बिताए । उनले कांग्रेस संसदीय दलको प्रमुख सचेतकको भूमिकासमेत पूरा गरेका थिए । ०१७ देखि नै विद्यार्थी राजनीतिमा क्रियाशील श्रेष्ठ ०३६ को जनमतसंग्रह, ०४२ को सत्याग्रह, ०४६ को जनआन्दोलन र ०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागी थिए ।
राष्ट्रपतिदेखि सहयोद्धा नेताहरूले भने– लोकतान्त्रिक आन्दोलनमा अतुलनीय क्षति
कांग्रेस वरिष्ठ नेता गोपालनमान श्रेष्ठको निधनले लोकतन्त्रमा अतुलनीय क्षति भएको राष्ट्रपतिदेखि सहयोद्धा नेताहरूले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याएका योगदान सदा स्मरणीय रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले भनेका छन्, ‘उहाँलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तित्वको रूपमा मैले चिन्ने मौका पाएँ । श्रेष्ठको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको महसुस गरेको छु ।’
कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निभाएको अग्रणी भूमिका सधैँ स्मरणीय रहने बताएका छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निभाउनुभएको अग्रणी भूमिका सधैँ स्मरणीय रहनेछ,’ देउवाले भनेका छन् । त्यस्तै, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन् । ‘नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ,’ प्रचण्डले भनेका छन् ।
नेकपा सहसंयोजक माधवकुमार नेपालले राजनीतिक परिवर्तनको आन्दोलनमा सधैँभरि क्रियाशील श्रेष्ठले १२ बुँदे समझदारीलाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन् । कांग्रेस सभापति गगन थापाले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति श्रेष्ठको अविचलित भूमिका सधैँ प्रेरणादायी रहने बताएका छन् ।
यस्तै १२ बुँदे समझदारीका अर्का हस्ताक्षरकर्ता अमिक शेरचनले प्रतिगमनविरुद्धको आन्दोलनमा श्रेष्ठले निरन्तर संघर्ष गरेको स्मरण गरेका छन् । त्यस्तै, कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान महत्वपूर्ण भएको स्मरण गरेका छन् । एमाले पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले श्रेष्ठलाई लोकतान्त्रिक आन्दोलनको पुरानो योद्धाका रूपमा स्मरण गरेका छन् ।