प्रेरक प्रसंग : घोडाको गल्ती

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

कडा परिश्रमपछि थाकेर एक घोडा साँझ तबेलामा फर्कियो । तबेलामा आराम गरिरहेको समयमा त्यहाँ एउटा बिरालो आइपुग्यो । घोडाले बिरालोसित भन्यो– बिरालो भाइ, आज त खुब काम गरेर बेस्सरी थाकियो । अब भोलि अलि कम काम गर्नुपर्ला । सोच्दै छु, भोलि ढिलासम्म तबेलामै बसेर आराम गर्नुपर्ला ।

बिरालो त्यहाँबाट गाई भएको ठाउँमा पुग्यो । उसले गाईलाई भन्यो– घोडा त यहाँ बस्नै चाहँदैन । ऊ मलाई भन्दै थियो– मालिक निकै निर्दयी छ । काममा मात्रै जोताउँछ । गाईको भेट बाख्रासित भयो । उसले बाख्रालाई भन्यो– घोडा त यहाँबाट जान चाहन्छ । उसलाई मालिकले निकै पिट्छन् । पेटभर खान पनि दिँदैनन् । बाख्राको भेट खरायोसित भयो । उसले खरायोलाई भन्यो– घोडा त यहाँ बस्नै चाहँदैन । ऊ त यहाँबाट भाग्न चाहन्छ ।

घोडा भन्छ– मालिक निकै कठोर छन् । उसलाई खुब पिट्छन् । सबैको काम पनि उसैलाई गराउँछन् । त्यसमाथि खान पनि दिँदैनन् । खरायोको भेट मालिकका सेवकसित भयो । उसले सेवकलाई भन्यो– तपाईंको घोडा त यहाँ बस्नै चाहँदैन । उसले त अर्कै फार्म हेरिसकेको छ । ऊ भन्छ– अर्को फार्मका मालिक निकै असल छन् । न धेरै काम गराउँछन्, न त पिट्छन् नै । यो सुनेपछि सेवक दौडेर मालिककहाँ पुग्यो । उसले मालिकलाई भन्यो– मालिक, हाम्रो घोडाले हामीसित विद्रोह गर्दै छ । भोलि बिहानै ऊ यहाँका सारा जनावरलाई लिएर अर्कै फार्ममा जाँदै छ । सेवकको कुरा सुनेपछि मालिक रिसले आगो भयो । सोही रात विषको सुई लगाएर उसले घोडालाई मारिदियो । 

आखिर किन मारियो त घोडा ? के उसले साँच्चै विद्रोहको सोच बनाएको थियो ? के ऊ साँच्चै सबै जनावरलाई लिएर फार्म छाडेर जान चाहन्थ्यो ? अहँ, उसले त्यस्तो केही सोचेकै थिएन । मात्र उसले आफ्नो मनको कुरा कोही अर्कालाई बताउने एउटा गल्ती गरेको थियो ।

सुझावित समाचार