नारायणी घटना प्रकरण : वडाध्यक्ष चतुर्वेदी नियन्त्रणमा

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको छ। नारायणी अस्पतालको घटनासम्बन्धी सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसबिच, वडाध्यक्ष चतुर्वेदीलाई पक्राउ गरिएको विरोधमा वीरगन्ज महानगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरू एकताबद्ध भएका छन्। उनीहरूले पक्राउ परेका वडाध्यक्षलाई तत्काल रिहा गर्न माग गर्दै रिहा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

मंगलबार वडाध्यक्षहरूले जारी गरेको संयुक्त वक्तव्यमा जननिर्वाचित प्रतिनिधिमाथि गरिएको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै नगरवासीको हकहित संरक्षणका लागि आफ्नो दायित्व निर्वाह गर्ने क्रममा व्यक्त गरिएको धारणालाई आधार बनाएर गरिएको धरपकडको कडा भर्त्सना गरिएको छ।

वक्तव्यअनुसार साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका– २४ का राजकुमार कुर्मीको निधन भएपछि उत्पन्न परिस्थितिमा पीडित परिवारको गुनासो तथा चिकित्सकमाथि भएको भनिएको दुर्व्यवहारको न्यायोचित समाधानका लागि वडाध्यक्षहरूले स्थानीय प्रशासनसँग समन्वय गरिरहेका थिए।

सोही क्रममा वडाध्यक्ष चतुर्वेदीलाई महानगरपालिका कार्यालयपरिसरबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ।

वडाध्यक्षहरूले उक्त पक्राउलाई जनप्रतिनिधिको भूमिकामाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाइको माग गरेका छन्। साथै, माग सम्बोधन नभए साउन १३ गतेदेखि क्रमबद्ध आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

सुझावित समाचार