चीनबाट हुँदै आएको विद्युतीय चुरोट (भेप) तस्करीमा सुरक्षा निकायकै मिलेमतो देखिएको छ । तस्करीमा सघाएको आरोपमा सशस्त्र प्रहरी बलले मुस्ताङको नेचुङ बिओपीका तत्कालीन प्रमुख रहेका इन्स्पेक्टर वैकुण्ठ घिमिरेलगायतका प्रहरीलाई कारबाही गरेको छ ।
गत १ जेठमा मुस्ताङमा बरामद भेप तस्करीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको मिलेमतो देखिएको हो । भन्सार नाकाबाट छुटेको गाडी पछि लोमाङथान– २, एक्लेभट्टीबाट बरामद भएको थियो । नक्कली प्रज्ञापनपत्रका आधारमा दुईवटा गाडीमा राखेर भेप तस्करीको प्रयास भएको थियो ।
सशस्त्र प्रहरीले सीमामा कार्यरत आफ्ना सुरक्षाकर्मीमाथि छानबिन गर्दा तस्करीमा संलग्न समूहसँग सम्बन्ध भेटिएको हो । ‘उनीहरूले सुरक्षा निकायदेखि भन्सारका कर्मचारीसम्मका केही कर्मचारीलाई प्रभावित पारेको देखिन्छ,’ छानबिनमा संलग्न सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने ।
सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीले छानबिन समिति गठन गरी स्थलगत रूपमा अनुसन्धान गरेको थियो, जहाँ मिलेमतो देखिएको हो । तर, घटनामा नेपाल प्रहरी र भन्सारका कर्मचारीको भूमिकामाथि भने छानबिन भएको छैन ।
मिलेमतोमा गाडी पास भएको सूचनापछि भन्सार र सशस्त्र प्रहरीको टोलीले ना.६ख ४७४३ र ना.५ख ७९२१ नम्बरको कन्टेनरसहित धादिङ जिल्लाको धुनीबेँसी नगरपालिका– १ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका– २ बस्ने फुन्चुदोर्जे तामाङ र भोटेकोशी गाउँपालिका– ३ बस्ने पासाङ शेर्पालाई पक्राउ गरेको थियो । इलेक्ट्रिक भेपसहित २५९ कार्टुन विभिन्न सामान बरामद भएको थियो ।
अनुसन्धानको क्रममा भन्सारको प्रज्ञापनपत्र नै नक्कली भएको खुलेपछि चालकद्वय सन्तोष र फुन्चुदोर्जेसहित सिन्धुपाल्चोकका रवीन्द्र दर्नाल तथा हिमेत तामाङलाई पनि पक्राउ गरी सरकारी लिखत किर्ते मुद्दा दायर गरिएको छ । भेपलगायत सामानको विषयमा भन्सार कार्यालयले थप छानबिन गरिरहेको छ ।
पक्राउ परेका दर्नालले आफूलाई ठमेलमा एक चिनियाँ नागरिकले कालो झोलामा राखेर नक्कली प्रज्ञापनपत्र दिएको बयान गरेका छन् । तर, ती चिनियाँ नागरिकको पहिचान नहुँदा गिरोहका नाइके भेटिएका छैनन् । यो समूहले विगतमा पनि यसरी नै भेपलगायत सामान तस्करी गर्दै आएको आरोप छ ।
सशस्त्रको छानबिनमा तस्कर समूहले यसमा सशस्त्र प्रहरीसहित नेपाल प्रहरी र भन्सारका कर्मचारीलाई समेत प्रभावमा पारेको भेटिएको छ । तर, नेपाल प्रहरीका गण्डकी प्रदेशका प्रमुख डिआइजी दीपेन्द्र जिसी भने सो घटनामा प्रहरीको मिलेमतो नभेटिएको दाबी गर्छन् । कोरला नाकाबाट रातिको समयमा मालवाहक सवारीसाधनको आवातजावात रोक भए पनि राति ९ बजे दुई कन्टेनर छाडिएको थियो ।
सरकारले विद्युतीय चुरोट आयातमा रोक लगाए पनि उच्च माग भएकाले चीनबाट तस्करी हुने गरेको छ । उच्च नाफा हुने भएकाले सुन तस्करीमा संलग्न गिरोहसमेत यसमा लागेको जानकार बताउँछन् । पछिल्लो समय बारम्बार तस्करीको भेप बरामद भइरहेको छ । तर, यो गिरोहमा आबद्ध उच्च तहका व्यक्तिहरू भने अनुसन्धानमा आउन सकेका छैनन् । यसमा चिनियाँदेखि भारतीय व्यक्तिहरूसमेत संलग्न रहेको बताइन्छ ।