नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
श्रेष्ठको निधनले नेपाली कांग्रेससहित नेपाली राजनीतिक क्षेत्रमा एक अनुभवी नेताको अभाव भएको छ। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका श्रेष्ठलाई कांग्रेसले हालै मात्र वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्। उनले श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएका छन्।
श्रद्धाञ्जली कार्यक्रमपछि शवयात्रासहित श्रेष्ठको पार्थिव शरीर पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने जनाइएको छ।कांग्रेस सभापति गगन थापाले ७ साउनमा गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनीत गरिएको घोषणा गरेका थिए।