धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट लागुऔषध गाँजा तयार पार्ने फलामको हाइड्रोलिक प्रेस मेसिन प्रहरीले बरामद गरेको छ ।
साँगुरीगढी गाउँपालिकाबाट साउन ८ गते गाँजा बोक्ने टेम्पो र गाँजासहित पक्राउ परेका दुईजना युवालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने क्रममा साँगुरीगढी गाउँपालिका– ३, साप्तेनका ४० वर्षीय हर्क इवा भन्ने हर्क इवाहाङ (लिम्बू)को घरबाट गएराति प्रहरीले लागुऔषध गाँजा तयार गर्ने फलामको हाइड्रोलिक प्रेस मेसिन एक थान फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । मेसिनधनी इवाहाङ भने फरार रहेका छन् ।
साउन ८ गते साँगुरीगढी गाउँपालिका– २, गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र वडा नम्बर ३, मादेनका ३२ वर्षीय मदन याखालाई ७१ केजी ३५ ग्राम लागुऔषध गाँजासहित उनीहरूलाई साँगुरीगढी गाउँपालिका– २, माङदुवाबाट प्रहरीले पक्राउ गरेको थियो ।
उक्त घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्ने क्रममा लागुऔषध गाँजा तयार गर्ने मेसिन इवाहाङको घरमा हुन सक्ने भन्ने अनुसन्धानबाट खुल्न आएपछि प्रहरी चौकी डाँडाबजार, प्रहरी चौकी मूलघाट र अस्थायी प्रहरी पोस्ट फलामेटारसमेतको संयुक्त टोलीले गएराति उक्त मेसिन बरामद गरेको प्रहरीले बताएको छ ।
लागुऔषध गाँजा तयार गर्ने मेसिन फेला पारेपछि मेसिनलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारी क्षेत्रीले बताए । मेसिधनी फरार रहेकाले उनको खोजी कार्य पनि तीव्र पारिएको प्रहरीले बताएको छ ।