सरकारले सञ्चालन गरेको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म १ हजार ८६० निवेदन परेकामा १७३ कर्मचारीको सरुवा भएको छ। प्रक्रिया नपुगेका २८ निवेदन फिर्ता गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल रिक्त पदमा सरुवालाई प्राथमिकता दिइएको छ। डिजिटल प्रणालीबाट घरमै बसेर आवेदन दिन र अवस्थाबारे जानकारी लिन सकिने भएकाले कागजी प्रक्रिया हटाइएको छ।
निजामती कर्मचारीले कर्मचारी संकेत नम्बर प्रयोग गरी अनलाइन खाता बनाएर सरुवा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नियमित सरुवा अवधि भदौ १ देखि ३० गतेसम्म रहेकाले अहिले विशेष आवश्यकताका आधारमा मात्र सरुवा भइरहेको मन्त्रालयले जनाएको छ।
नयाँ प्रणाली राष्ट्रिय किताब खानासँग जोडिएकाले सरुवा स्वीकृत भएपछि कर्मचारीको विवरण स्वतः अद्यावधिक हुने मन्त्रालयको भनाइ छ। यसले सरुवा प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।