काठमाडौंमा बंगलादेश आँप उत्सव आयोजना

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

नेपालस्थित बंगलादेशी दूतावासले बंगलादेशमा ढिलो पाक्ने (लेट भेराइटी)लगायत विभिन्न जातका आँपहरूसहित ‘बंगलादेश म्यांगो डेलिकेसी’ नामक आप उत्सवको आयोजना गरेको छ। बंगलादेशले हालसालै कृषि तथा कृषि–प्रशोधन क्षेत्रमा हासिल गरेका उपलब्धिबारे कार्यक्रममा कूटनीतिज्ञ एवं सरोकारवालाले चर्चा गरेका छन्।

सार्क सचिवालयका महासचिव गोलाम सरवार, नेपालको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, उद्योगी–व्यवसायी, प्रमुख आयातकर्तालगायत कार्यक्रममा सहभागी थिए। नेपालका लागि बंगलादेशी राजदूत सफिकुर रहमानले कृषि तथा कृषि–प्रशोधन क्षेत्रमा बंगलादेशले हासिल गरेका हालैका उपलब्धिहरूमाथि प्रकाश पार्दै आँपबारे चर्चा गरे।

मुगल साम्राज्यका बेलाको दक्षिण एशियाली इतिहासका प्रसंगहरू स्मरण गर्दै उनले बंगलादेशका उर्वर पाँगो माटो र अनुकूल जलवायुमा विश्वका केही उत्कृष्ट जातका आँपहरू फलाइने जानकारी दिए। उनले खिर्सापात (हिमसागर), हरिभंगा, लंगडा, फजली, गोपालभोग, आम्रपाली, आश्विना, बनाना म्यांगो, काटीमोन, गौरामोती र बारीजस्ता प्रसिद्ध जातका आँपहरू तिनको उत्कृष्ट मिठास, विशिष्ट सुगन्ध, उच्च गुणस्तर र पौष्टिक तत्वका लागि व्यापक रूपमा रुचाइने पनि उल्लेख गरे।

राजदूत रहमानले बंगलादेशी वैज्ञानिक र अनुसन्धानकर्ताहरूले ‘बारी’लगायत ढिलो पाक्ने तथा केही वैदेशिक मूलका नयाँ जातका आँपहरूको विकासमा उल्लेखनीय योगदान पु¥याएको बताए।

सार्क सचिवालयका महासचिव सरवारले दक्षिण एशियाका विभिन्न जातका आँपहरूको सम्पदा र स्वादमा ध्यान केन्द्रित गर्दै प्रचुर सम्भावनाका बाबजुद यस क्षेत्रबाट अन्तर्राष्ट्रिय बजारमा आँप र यसका प्रशोधित वस्तुहरूको निर्यात न्यून रहेकोमा दुःख व्यक्त गरे। सार्कका सदस्य राष्ट्रहरूलाई कृषि क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरे।

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीले आँप उत्सबले नेपाल र वंगलादेशबीच विभिन्न क्षेत्रका जनतालाई आत्मीयताका साथ जोड्ने काम गरेको बताए। आँप कूटनीतिमार्फत बंगलादेशी राजदूतले गरेको नवप्रवर्तनकारी पहलको प्रशंसा गरे।

प्रदर्शनीमा बंगलादेशका ताजा आपहरूका साथै व्यापक मात्रामा प्रशोधित उत्पादनहरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा बंगलादेशका आँप किसान मोहम्मद रोफिकुल इस्लामले बंगलादेशमा असल कृषि अभ्यास अनुरूप आँप खेती गर्ने तरिका र १५ वर्षभन्दा बढी समयको आँप उत्पादनको अनुभव प्रस्तुत गरे। उनले बंगलादेश कृषि विस्तार विभागको सुपरिवेक्षणमा असल कृषि अभ्यास अपनाएर गरिएका आँप खेतीका केही उत्कृष्ट अनुभवहरू साझा गरे।

दूतावासले बंगलादेश र नेपालबीच व्यापार, लगानी र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै ’बंगलादेश म्यांगो डेलिकेसी’ जस्ता पहलहरूले दुई देशबिचको लामो समयदेखिको मित्रता र आपसमा लाभदायक साझेदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। 

उत्सव हलमा ढिलो पाक्ने विभिन्न जातका आँपहरू जस्तैः फजली, आम्रपाली, बारी–४, काटीमोन, गौरामोती, आश्विना आदि अवलोकनकर्ताका लागि प्रदर्शनमा राखिएका थिए। बंगलादेशी ब्रान्डका कम्पनीहरूद्वारा उत्पादित आपका प्रशोधित सामग्रीहरू जस्तैः जुस, अचार, फ्रुट बार, ड्राइ–म्यांगो, चटनी, जाम र जेली उत्पादनहरू पनि प्रदर्शन गरिएका थिए। साथै, आँपबाट बनाइएका विभिन्न परिकारहरू जस्तैः म्यांगो केक, स्टिकी–राइस म्यांगो, म्यांगो पुडिङ आदि अतिथिहरूलाई पस्किएको थियो। कार्यक्रममा बंगलादेशमा आँप खेती, त्यहाँको संस्कृति र ’ब्युटिफुल बंगलादेश’ सहितको पर्यटन उद्योगलाई उजागर गर्ने केही वृत्तचित्रहरू पनि प्रदर्शित गरिएका थिए।

सुझावित समाचार