सवारी दुर्घटनामा पर्सामा एकै वर्ष ३० जनाको मृत्यु

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८२/८३ मा पर्सामा सवारी दुर्घटनाका कारण ३० जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका अनुसार ८३९ सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको हो। 

एक वर्षमा सवारी दुर्घटनाका कारण एक हजार २५९ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। युवा उमेरका चालकले अनियन्त्रित गतिमा बढी क्षमताका मोटरसाइकल चलाएका कारण दुर्घटना हुने गरेको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले बताए।

उनका अनुसार गत त्यसअघि आव ०८१/८२ मा सवारी दुर्घटनाबाट जिल्लामा ४७ जनाले ज्यान गुमाएका थिए। जसमा दुई बालबालिकासहित ४२ पुरुष र तीन महिला छन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष ज्यान गुमाउनेको संख्या घटे पनि समग्रमा प्रत्येक महिना नागरिकले ज्यान गुमाएकाे देखिन्छ।

आर्थिक वर्ष ०८०/८१ मा ४३ पुरुष, सात महिला र एक बालिका गरी ५१ जनाले ज्यान गुमाएका थिए। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार आव ०७९/८० मा ३९ जनाको मृत्यु भयाे। जसमा २९ पुरुष, पाँच महिला र पाँच बालबालिका थिए। यसैगरी, आव ०७८/७९ मा ३० पुरुष, दुई महिला र ६ बालबालिका गरी ३८ जनाले ज्यान गुमाए।

सुझावित समाचार