बर्दियामा खाना पकाउने ग्यास अभाव

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

बर्दियामा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। ग्यास कम्पनीहरूले पर्याप्त परिमाणमा आपूर्ति नगर्दा बजारमा ग्यास अभाव भएको हो। ग्यासको नियमित आपूर्ति हुन नसक्दा ग्यास खरिद गर्न पुगेका उपभोक्ताहरू खाली हात फर्किन बाध्य छन्।

ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको उपभोक्ताहरूले बताएका छन्। ठाकुरबाबा– १ का कञ्चनपुर बेदप्रकाश खतिवडाले मनकामना ग्यास नपाएर समस्या भएको बताए। घरमा ग्यास सकिएको एक हप्ता बितेपछि खाली सिलिन्डर बोकेर पटकपटक डिपो पुगे पनि ग्यास नपाएको गुनासो उनले गरे।

बर्दियामा भेरी ग्यास, मनकामना ग्यास, शैपाल ग्यास, कर्णाली ग्यास र रेडियम ग्यास बिक्री–वितरण हुँदै आएको छ। हाल प्रति सिलिन्डर एलपी ग्यासको मूल्य २ हजार ६० कायम रहे पनि आफूले प्रयोग गर्ने कम्पनीको ग्यास नपाउँदा अर्को कम्पनीको सिलिन्डरसँग साट्न थप एक सय रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ।

ग्यास बिक्रेता संघ बर्दियाका अध्यक्ष टिकाराम कोइरालाले ग्यास अभावको हल्ला फैलिएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास घरमा सञ्चित गर्ने प्रवृत्तिका कारण पनि अभाव देखिएको बताए। उनले भने, ‘जिल्लाभर दुई सयभन्दा बढी ग्यास बिक्री केन्द्र छन्। ग्यास अभाव हुन नदिन हामी ग्यास कम्पनीहरूसँग नियमित समन्वय र सम्पर्कमा छौं।’

ग्यास बिक्रेता संघ लुम्बिनी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद श्रेष्ठले भारतबाट ग्यास कम आएको भन्ने हल्लाका कारण उपभोक्ताले घरमा अतिरिक्त सिलिन्डर भण्डारण गर्दा बजारमा अभाव देखिएको बताए। उनले भने, ‘मैले गत वर्ष जति ग्यास बिक्री गरेको थिएँ, अहिले पनि लगभग त्यति नै बिक्री भइरहेको छ। तर ग्यास आएको दिनमै सकिने गरेको छ। बजारमा फैलिएको अभावको हल्लाले पनि यस्तो अवस्था सिर्जना भएको हुन सक्छ।’

श्रेष्ठले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास घरमा भण्डारण नगर्न आग्रह गर्दै त्यसो गरे सबै उपभोक्ताले सहज रूपमा ग्यास पाउने बताए।

सुझावित समाचार