जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रकृतिका आपराधिक घटनामा संलग्न १७८ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार पक्राउ परेकामध्ये ६ जना जघन्य प्रकृतिका, ६३ जना गम्भीर प्रकृतिका र १०९ जना सामान्य प्रकृतिका मुद्दामा संलग्न रहेका छन् ।
प्रहरीको तथ्यांकअनुसार कर्तव्य ज्यान मुद्दामा चारजना, सवारी ज्यानमा १५ जना, जबर्जस्ती करणीमा १५ जना, जबर्जस्ती करणी उद्योगमा ६ जना, ज्यान मार्ने उद्योगमा २३ जना, अभद्र व्यवहार मुद्दामा ३३ जना, हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा दुईजना रहेका छन् । यस्तै, बैंकिङ कसुरमा २६ जना, विद्युतीय कसुरमा चारजना, लागुऔषधसम्बन्धी मुद्दामा २२ जना, ठगीमा चारजना, आपराधिक उपद्रवमा तीनजना, साधारण चोरीमा तीनजना, जुवा मुद्दामा ६ जना तथा बहुविवाह मुद्दामा १२ जना पक्राउ परेका छन् ।
प्रहरी निरीक्षक भट्टराईका अनुसार विभिन्न मुद्दामा संलग्न नाैजना प्रतिवादी अझै फरार रहेका छन् । फरार रहेकामध्ये बैंकिङ कसुरमा ३ जना, जबरजस्ती करणीमा तीनजना, जबर्जस्ती करणी उद्योगमा एकजना तथा सवारी ज्यान मुद्दामा दुईजना रहेका छन् ।
उनले फरार प्रतिवादीहरूको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताउँदै उनीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी परिचालन गरिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध नियन्त्रण, अनुसन्धान र फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै कानुनी शासन कायम गर्न निरन्तर सक्रिय रहेको जनाएको छ ।
प्रहरीले शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै कुनै पनि आपराधिक गतिविधिको सूचना नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।