देवानगन्ज घटनापछि गाउँपालिकामा दुई दिन शोकबिदा, कर्फ्युपछि सेना परिचालन

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

दुई समुदायबिचको झडपपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि सुनसरीको देवानगन्ज गाउँपालिकाले दुई दिन शोकबिदा दिएको छ ।

सुनसरीको देवानगन्ज गाउँपालिका– ३ स्थित कप्तानगन्ज बजारमा आइतबार राति दुई समुदायबिच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए । सोही घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार र मंगलबार दुई दिन शोकबिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले १० साउन राति कप्तानगन्ज बजारमा भएको झडपका क्रममा मृत्यु भएका व्यक्तिप्रति गहिरो समवेदना व्यक्त गर्दै साउन ११ र १२ गते गाउँपालिकाअन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाबाहेकका अन्य आवश्यक कार्यालयमा शोकबिदा दिने निर्णय गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष मेहताका अनुसार गाउँपालिकाले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, शोकबिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना गरेको छ ।

आइतबार राति बोलबम यात्रामा जाने तयारीका क्रममा डिजे बाजा बजाएर नाचगान गरेको विषयमा स्थानीय दुई समुदायबिच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

घटनामा प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा राति नै मृत्यु भएको हो । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।

घाइतेमध्ये स्थानीय २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता, २० वर्षीय अमितकुमार यादव, २१ वर्षीय रवीन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनीलकुमार मेहता र २६ वर्षीय सुनीलकुमार मेहताको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र कोशी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठजना सुरक्षाकर्मी घाइते भएका छन् । झडपमा घाइते हुनेको संख्या २२ पुगेको छ । घटनाका क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको सूचना पाएलगत्तै राति नै घटनास्थल पुगेका र विराटनगरस्थित विभिन्न अस्पतालमा उपचाररत मृतक तथा घाइतेहरूको अवस्था बुझेका सुनसरी क्षेत्र नम्बर ३ का रास्वपा सांसद लालविक्रम थापाले प्रहरीले हतारमा अन्धाधुन्ध गोली चलाउँदा स्थानीय एक युवाको ज्यान गएको र केही घाइतेको अवस्था गम्भीर रहेको बताएका छन् । उनले सुरक्षा नेतृत्वलाई तत्काल निलम्बन गरेर मात्र छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

आइतबार राति गोली चलेको घटनास्थल देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जको नयाँ बजार नेपाल–भारत सीमानाकाबाट करिब एक किलोमिटर उत्तरमा पर्छ । 

थप हिंसा भड्किन नदिन सुनसरी प्रशासनले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

तर, आक्रोशित स्थानीयले कर्फ्यु उल्लंघन गर्दै पसलहरू तोडफोड गर्नुका साथै आगजनी गरेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । सुनसरी प्रशासनले थप हिंसा हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

आक्रोशित प्रदर्शनकारीहरूले सुनसरीको दक्षिणी क्षेत्रमा पर्ने देवानगन्ज गाउँपालिकामा मात्र नभई सदरमुकाम इनरुवासहित अन्य विभिन्न बजार क्षेत्रमा समेत प्रदर्शन गरिरहेका छन् । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन र आगजनी भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ ।

सुझावित समाचार