नेपाल प्रहरीका ११ कर्मचारी लामो समयदेखि आफूखुसी ड्युटीमा अनुपस्थित रहेको पाइएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरूलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
सम्पर्कमा ल्याउने प्रयास असफल भएपछि अन्तिम अवसर दिइएको प्रहरीले जनाएको छ। तोकिएको समयभित्र उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
सम्पर्कविहीन हुनेमा दुई प्रहरी सहायक निरीक्षक, आठ प्रहरी जवान र एक कार्यालय सहयोगी रहेका छन्। उनीहरू काठमाडौं, सुर्खेत, ओखलढुंगा, मधेश, चितवन, तनहुँ, बाँके, कञ्चनपुर, लमजुङलगायत स्थानमा कार्यरत थिए।
