नेपालमा वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ। अर्थ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष ०८२/८३ को जेठ मसान्तसम्म कुल १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३ प्रतिशतले कम हो।
सोही अवधिमा सरकारले ४० अर्ब ८८ करोड रुपैयाँ वैदेशिक अनुदान र ९३ अर्ब ९५ करोड रुपैयाँ ऋण प्रतिबद्धता प्राप्त गरेको मन्त्रालयको अर्थ बुलेटिनमा उल्लेख छ। कुल प्रतिबद्धतामध्ये ६९.७ प्रतिशत ऋण र ३०.३ प्रतिशत अनुदान रहेको छ।
वैदेशिक अनुदानतर्फ पनि उल्लेख्य गिरावट देखिएको छ। आर्थिक वर्ष ०८१/८२ को जेठसम्म ६७ अर्ब २६ करोड रुपैयाँ अनुदान प्रतिबद्धता प्राप्त भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा यो घटेर ४० अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ। यसले अनुदान प्रतिबद्धतामा २६ अर्ब ३८ करोड रुपैयाँको कमी आएको देखाउँछ।
अघिल्लो आर्थिक वर्षमा सरकारले लक्ष्यको ५८ प्रतिशत मात्रै वैदेशिक अनुदान परिचालन गर्न सकेको थियो। त्यसपछि पनि सरकारले चालू आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य निर्धारण गरेको छ।