‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

नेपालको जलस्रोत क्षेत्रको विकास, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ।

आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन्।

जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अंग्रेजी भाषामा लेखिएको पुस्तकमा नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका विभिन्न पक्षलाई तथ्य र विश्लेषणसहित प्रस्तुत गरिएको लेखकले बताएका छन्।

पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुकमध्ये एक भए पनि जलस्रोतको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताए।

उनले जलस्रोतलाई केवल ऊर्जा उत्पादनमा मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए।

लेखक महाजन यादवले पुस्तक तयार पार्नुको उद्देश्य नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु तथा नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए।

उनका अनुसार पुस्तकमा नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर र चुनौतीसम्मको विस्तृत विश्लेषण समेटिएको छ। साथै, जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राख्दै अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक उपायहरूबारे समेत पुस्तकमा चर्चा गरिएको छ।

आयोजकका अनुसार जलस्रोत क्षेत्रसँग सम्बन्धित नीति निर्माण, अध्ययन तथा अनुसन्धानका लागि उपयोगी सन्दर्भ सामग्रीका रूपमा यस पुस्तकले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सुझावित समाचार