दाङमा एक १८ वर्षीया युवतीले सुरुमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दिएकी थिइन्। उनले जबरजस्ती करणीका कारण आफू ७ महिनाको गर्भवती भएको समेत बताएकी थिइन्। सोही आधारमा मुद्दा अदालतसम्म पुगेको थियो।
अदालतमा भएको बकपत्रका क्रममा बबई गाउँपालिका–४ हापुरे निवासी घनश्याम विश्वकर्माले समेत युवतीकै सहमतिमा करणी भएको स्वीकार गरेका थिए। तर, पछि पीडित भनिएकी युवतीले अदालतमा आफ्नो बयान परिवर्तन गर्दै पेटमा रहेको बच्चा आफ्नै श्रीमान्को भएको र आफूलाई जबरजस्ती करणी नभएको बताइन्।
त्यसपछि जिल्ला अदालत दाङले बलात्कार आरोप लागेका घनश्याम विश्वकर्मालाई सफाइ दिएको छ। यही साउन ४ गते जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले विश्वकर्मालाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो।
के थियो घटना?
युवतीले २०८० मंसिर १४ गते साँझ तुलसीपुरबाट औषधि लिएर घर फर्किने क्रममा विश्वकर्माले आफ्नो अटोमा राखी फुपूको घर पुर्याइदिने बहानामा चितलगैरा सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। उक्त घटनापछि आफू ७ महिनाको गर्भवती भएको उनको दाबी थियो।
सुरुवाती अनुसन्धानका क्रममा प्रतिवादी विश्वकर्माले युवतीकै सहमतिमा करणी भएको स्वीकार गरेको बताइएको थियो। तर, अदालतमा भने उनले आफूले करणी नगरेको र आफूलाई फसाउन झुटो उजुरी दिइएको दाबी गरेका थिए। उनले बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग समेत गरेका थिए।
मुद्दाले नयाँ मोड तब लियो, जब पीडित युवती आफैँ अदालतमा उपस्थित भएर आफ्नो बयान फेरिन्। उनले अदालतसमक्ष बकपत्र गर्दै प्रतिवादीले आफूलाई जबरजस्ती करणी नगरेको र श्रीमान्ले शंका गरी दबाब दिएका कारण झुटो मुद्दा दर्ता गराएको बताएकी थिइन्। उनले आफ्नो पेटमा रहेको गर्भ समेत श्रीमान्कै भएको दाबी गरेकी थिइन्।
घटनाबारे कागज गर्ने अन्य साक्षीहरूले समेत अदालतमा बकपत्रका क्रममा युवती र उनका श्रीमान्बीच सम्बन्ध राम्रो नभएको तथा श्रीमान्ले अर्को विवाह गरिसकेकाले श्रीमतीलाई छुटाउन दबाब दिई झुटो उजुरी दिन लगाएको बताएका थिए।
यस्तै, चिकित्सकीय स्वास्थ्य परीक्षण प्रतिवेदनमा समेत युवतीको शरीरमा कुनै घाउचोट नदेखिएको उल्लेख गरिएको थियो। अदालतले पीडित युवती र साक्षीहरू आफ्नो पूर्व कथनबाट पछि हटेको (होस्टायल भएको), स्वास्थ्य परीक्षणमा चोटपटक नदेखिएको तथा घटनाको लामो समयपछि मात्र उजुरी परेको आधारमा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षले आरोप पुष्टि गर्न नसकेको ठहर गरेको हो।
यस फैसलासँगै पुर्पक्षका लागि दाङ कारागारमा थुनामा रहेका घनश्याम विश्वकर्मा थुनामुक्त भएका छन्।