शनिबार राति पर्साको छिपहरमाई गाउँपालिका– १ मिर्जापुरस्थित आँपको बगैँचाबाट १४० किलोग्राम गाँजा बरामद भयो। इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले बगैँचाभित्र घाँसमा १३ वटा पोकामा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
यसअघि साउन ५ मा पनि जगरनाथपुर गाउँपालिका– ४, सुहपुरबाट पर्सा प्रहरीले २० किलो गाँजासहित एक भारतीयलाई पक्राउ गरेको थियो। उक्त गाँजासहित बिहार सीतामढी ग्राम पञ्चायत तालका ड्रुमाका ३३ वर्षीय रहमद अन्सारी पक्राउ परेका थिए। यस्तै, गत असार २६ मा पनि प्रहरीले चार किलो ४५० ग्राम गाँजासहित एक भारतीयलाई पक्राउ गरेको थियो। प्रहरीले ठोरी गाउँपालिका– ३ बुद्धनगरबाट बिहार पश्चिम चम्पारणका २२ वर्षीय रुपेश कुमारलाई पक्राउ गरेको हो।
२१ असारमा पनि पर्सा प्रहरीले कारमा लुकाएको १०२ किलो गाँजासहित अर्का एक भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले जगरनाथपुर गाउँपालिका– २, इनर्वा जाने बाटोबाट बिहार बेतिया नवलपुरका ३३ वर्षीय गुडु बर्मालाई पक्राउ गरेको हो।
एक महिनामा ७८३ किलो गाँजा बरामद
पर्सा प्रहरीको तथ्यांकअनुसार गत असार महिनामा मात्र ७८३ किलो ८८ ग्राम गाँजा बरामद भएको छ। जिल्लाकै ग्रामीण क्षेत्रबाट एक महिनामा उक्त गाँजा बरामद भएको हो।
पर्साका एक प्रहरी अधिकृतका अनुसार अहिलेसम्म जिल्लाका चार पालिकाबाट गाँजा बरामद भएका छन्। गाँजा बरामद भएका ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जगरनाथपुर गाउँपालिका र छिपहरमाई गाउँपालिका भारत प्रवेश हुने सीमा क्षेत्रका पालिका हुन्।
ती अधिकारीका अनुसार जंगलसँग जोडिएको यस क्षेत्रमा इलाका प्रहरी कार्यालय हुँदाहुँदै पनि कहिलेकाहीँ यो क्षेत्र कटेर बोर्डरसम्मै पुर्याएपछि पनि गाँजा बरामद भएको देखिन्छ। तथ्यांकअनुसार कुनै समय प्रतिबन्धित गाँजा उत्पादनको थलो रहेको पर्सा करिब डेढ दशकको अन्तरालपछि भने त्यसको तस्करीको ‘ट्रान्जिट’ बन्न लागेको छ।
मकवानपुर, चितवन र धादिङको पहाडी भेगमा उत्पादित गाँजा भारततर्फ तस्करी गर्न तस्कर गिरोहहरूले पर्साको वीरगन्ज नाका र यहाँका ग्रामीण भेगलाई ‘ट्रान्जिट’ बनाउन थालेका छन्। सुरक्षा निकायले पनि यसलाई नियन्त्रण गर्न सक्रियता बढाएका छन्।
यस्तो छ पछिल्लो तीन वर्षको विवरण
गत आर्थिक वर्ष ०८०/८१ मा पर्साबाट कुल ४६७ किलो गाँजा बरामद भएको तथ्यांक छ। यस्तै आर्थिक वर्ष ०८१/८२ मा एक हजार ५६१ किलो र आर्थिक वर्ष ०८२/८३ मा दुई हजार ४३१ किलो गाँजा बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक मल्लले बताए। प्रतिबन्धित गाँजा ओसारपसार गर्नेहरूले पछिल्लो समय दुवै देशको सुरक्षा घेरालाई चुनौती दिइरहेको देखिन्छ।