मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११, थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालयनजिकै एक व्यक्ति शंकास्पद अवस्थामा मृत फेला परेका छन्। मृतक थाहा नगरपालिका– १० का ४१ वर्षीय आसमान गोपाली रहेको मकवानपुर प्रहरीले जनाएको छ।
घटनास्थलमा रगतसमेत देखिएपछि प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब ६ः१५ बजे सडकछेउमा एक पुरुष मृत अवस्थामा रहेको सूचना प्रहरी कन्ट्रोल रुममा प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा शव आसपास रगत देखिएपछि थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा अर्को प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्रयाकर कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको छ।
घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।